राप्रपा आन्दोलनको तयारीमा, जनसंघर्ष परिचालन समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जनसंघर्ष परिचालन समिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित समितिको सल्लाहकारमा पार्टी अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दिपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्यसचिवमा महामन्त्री भास्कर भद्रा छन् ।

नवगठित जनसंघर्ष परिचालन समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, प्रदेश कार्य समितिका अध्यक्ष, विभागीय प्रमुखहरु, भ्रातृ संगठनका प्रमुखहरु तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका अध्यक्षहरु छन् ।

आज राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा राप्रपा अध्यक्ष कमल थापाले जनसंघर्षका कार्यक्रमलाई सफल बनाउन पार्टीका सबै तहलाई सक्रिय हुन निर्देशन दिए । थापाले राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, स्वाधिन र समृद्ध नेपाल निर्माणको निमित्त राजनीतिक दलहरुले दलीय स्वार्थभन्दा माथि उठेर सोच्नु पर्ने समय आएको बताए ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुकलाई स्थिरतातर्फ लैजान नसकेको चर्चा गर्दै अध्यक्ष थापाले संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरि पूर्ण धार्मिक स्वतन्त्रतासहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न, राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्न माग गरे । उनले संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्न आवश्यक रहेकोमा जोड दिए ।

सरकारले यी मागहरु अबिलम्ब सम्बोधन गरी मुलुकलाई सही दिशातर्फ लैजानु पर्ने उनको भनाइ थियो ।

राप्रपाले हिन्दु राष्ट्र पुनर्स्थापनाको लागि चरणबद्ध आन्दोलनको घोषणा यसअघि नै गरिसकेको छ । जस अनुसार चैत १२ देखि १६ गतेसम्म प्रचारप्रसार, १७ देखि २३ गतेसम्म हिन्दु राष्ट्रको पक्षमा देशव्यापी हस्ताक्षर संकलन अभियान, २५ गते केन्द्रमा सिंहदरबार अगाडि, प्रदेशमा प्रदेश राजधानीमा र जिल्लामा जिल्ला सदरमुकामहरुमा १ घण्टे धर्ना, २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टे धर्ना, वैशाख ५ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्म निरपेक्षताको व्यानर÷प्लेकार्ड जलाउने तथा वैशाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रहका कार्यक्रमहरु छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार