बोइङले गर्‍यो ७३७ म्याक्सको विवादित सफ्टवेयरमा परिवर्तन

काठमाडाैा । पछिल्लो पाँच महिनामा भएको दुईवटा विमान दुर्घटनासँग जोडिएको ७३७ म्याक्स विमानको विवादित फ्लाइट कन्ट्रोल सिस्टम (विमान नियन्त्रण गर्ने सिस्टम) मा परिवर्तन गरेको बोइङ कम्पनीले जानकारी दिएको छ । यद्यपि, विश्वभर ग्राउन्डेड गरिएको विमान कहिलेदेखि पुनः सञ्चालनमा आउनेछ भन्ने चाहीँ स्पष्ट गरिएको छैन ।

अनुसन्धानकर्ताहरुले अझै पनि दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेका छन् । बोइङले ७३७ म्याक्स विमानमा एउटा चेतावनी दिने सिस्टम थप गर्ने जनाएको छ, जुन यसअघि वैकल्पिक सुरक्षा प्रणालीको रुपमा विमानमा रहेको थियो ।

दुर्घटनाग्रस्त बनेका इन्डोनेसियाको लायन एयर र इथियोपियन एयरको विमानमा यो चेतावनी दिने सिस्टम थिएन जसले पाइलटहरुलाई सेन्सरले विरोधाभासी तथ्यांक दिएको खण्डमा पूर्व चेतावनी दिन्थ्यो ।

बोइङले यो चेतावनी दिने सिस्टम जडान गर्दा विमानहरुलाई थप रकम नलाग्ने पनि बताएको छ ।

त्यस्तै, विमान निर्माता कम्पनीले दुर्घटनासँग जोडिएको सफ्टवेयरमा पनि अपग्रेड गरेको जनाएको छ ।

मनुभरिङ क्यारेक्टरस्टिक्स अगुमेन्टेसन सिस्टम (एमसीएएस) नामक सफ्टवेयरले विमान धेरै ठाडो भएर उडान भरेको खण्डमा विमानलाई नियन्त्रणमा लिएर सामान्य अवस्थामा फर्काउने गर्थ्यो ।

गत वर्ष लायन एयरको विमान दुर्घटनाबारे अनुसन्धान गर्ने क्रममा यो सफ्टवेयरले काम नगरेको र प्लेनको अघिल्लो भागलाई २० पटकभन्दा बढी तल झार्ने प्रयास गरिएको र अन्ततः समुद्रमा दुर्घटनाग्रस्त हुँदा १८९ जनाले ज्यान गुमाएका थिए ।

अमेरिकी फेडरल एभिएसन एडमिनिस्ट्रिेसन (एफएए) ले गत मार्च १० मा भएको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना र लायन एयरको विमान दुर्घटनामा केही समानताहरुको रहेको बताइसकेको छ ।

बोइङले सफ्टवेयरमा अपडेट गर्दै अब सेन्सरहरुबाट विरोधाभासी संकेतहरु आएको खण्डमा सफ्टवेयर निश्क्रिय रहने बनाएको छ ।

पत्रकारहरुसँगको कुराकानीमा कम्पनीले आफ्नो सिस्टममा परिवर्तन गरे पनि यसलाई ‘विमानको दुर्घटनाको कारक सो सिस्टम रहेको’ भन्ने कम्पनीको स्वीकारोक्तिको रुपमा नबुझ्न पनि आग्रह गरेको छ ।

कम्पनीले यो हप्ताको अन्त्यसम्म नयाँ अपग्रेडहरु एफएएलाई बुझाउने बताएको छ ।

यद्यपि, कम्पनीले नयाँ सफ्टवेयर इन्सटल गर्न, पाइलटलाई परिवर्तनबारे प्रशिक्षण दिन र फेरि उडान भर्न सुरक्षित रहेको सुनिश्चित गर्न समय लाग्ने बताएको छ ।

त्यस्तै, इथियोपियन एयरलाइन्सको विमान दुर्घटनाबारे गरिएको संयुक्त अनुसन्धानको रिपोर्ट पनि यही हप्ता सार्वजनिक गरिने तयारी भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार