प्रधानमन्त्री ओलीद्वारा न्याम्सको उपकुलपतिमा साहलाई नियुक्त

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन् । उपप्रधान तथा स्वास्थ्य मन्त्री एवं न्याम्स्का सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति ओलीले साहलाई नियुक्त गरेका हुन् ।

यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादबले न्याम्सका अन्य पदाधिकारीको पनि नियुक्ति गरेका छन् । जसअनुसार पर्साका प्रा.डा. सुबोध कुमार अधिकारीलाई शिक्षाधक्ष्य, पाँचथरकी प्रा.प्रमिला देवानलाई रजिस्टार, सुनसरीका प्रा.डा.पियुस दाहाल डिन र सप्तरीका डा.केदार प्रसाद सेन्चुरीलाई वीर अस्पतालको निर्देशकमा नियुक्ति गरिएको छ । सबैको पदावधी चार वर्षको हुनेछ ।

प्रधानमन्त्री ओलीको उपस्थितीमा उपप्रधानतथा स्वास्थ्यमन्त्री यादवले उपकुलपति साहलगायत सबैलाई बालुवाटारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । सपथपछि प्रधानमन्त्री ओलीले भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

“पाँच सय रोपनी क्षेत्रफलमा भक्तपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने कार्य तत्काल थालनी गर्नुहोस । त्यो काम तपाईंहरुकै कार्यकालमा सम्पन्न हुनुपर्दछ ”प्रधानमन्त्री ओलीले भने, “अहिलेको वीर अस्पताललाई सिटी अस्पतालको रुपमा सञ्चालन गर्नु पर्दछ । ”

प्रधानमन्त्री ओलीले वरिष्ठ डाक्टरहरुले अस्पतालमा बिरामीको उपचार नगर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्न निदेर्शन दिए ।

“सिनियर भएपछि काम गर्नु नपर्ने गलत संस्कारको विकास भएको देखिन्छ । सिनियरको अनुभवले बिरामीको उपचार गर्दा त्यसबाट बिरामीले पाउने लाभअधिक हुन्छ ” प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुलाई बिरामीलाई गर्ने व्यवहार सुधार गर्न आग्रह गरे । “डाक्टर नर्सले बिरामीप्रति मायालु व्यवहार गर्नुहोस्, तपाईंको व्यवहारले बिरामीले राहत महसुस गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार