असिनापानीले दश लाख बढीको तरकारी नष्ट

कृषि डेली । बुधबार राति परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले आफ्नो खेतबारीमा लगाएको लाखौँको तरकारी नष्ट गरेको छ । राति १२ बजेदेखि परेको भीषण असिनापानीले टिपेर बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पु¥याएको हो ।

असिना र पानीले बन्दा, काउली, आलु, गाजर, रायोसाग, लसुन, प्याज, मुलालगायतका बेमौसमी तरकारी खेतीमा क्षति पु¥याएको कृषकले गुनासो गरेका छन् । नगरपालिकाको ज्यामरुककोट, खबरा, बगरफाँट, राक्से, सिङ्गा, तातोपानीलगायतका क्षेत्रमा लगाइएको तरकारी खेती असिनापानीले नष्ट गरिदिएको हो ।

असिनापानीका कारण खबरामा मात्रै रु १० लाख मूल्य बराबरको तरकारीमा क्षति पुगेको विगत ४० वर्षदेखि व्यावसायिकरूपमा तरकारी खेती गर्दै आउनुभएका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । कार्कीको मात्रै रु चार लाख बराबरको तरकारीमा क्षति पुगेको छ ।

असिनाले खबरामा लगाइएको केरा खेतीमा समेत असर पु¥याएको छ । मध्यरातमा परेको असिनापानीले खासगरी म्याग्दी सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा लगाइएको तरकारी बालीमा बढी असर गरेको छ । खानयोग्य तरकारी बाली असिनापानीले नष्ट गरेपछि किसान चिन्तित बनेका छन् ।

नगरपालिकाको खबरालगायत क्षेत्रबाट बेनीबजारमा दैनिक रूपमा तरकारी आयात हुने गर्दछ । जिल्लाको उच्च हिमाली र पहाडी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै तल्लो क्षेत्रमा असिनापानी परेको हो । असिनाले वनजङ्गलमा रुखका हाँगा तथा पातपतिङ्गरसमेत झारेको छ ।

नदीजन्य वस्तुको स्थानान्तरण

म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका–२ बगरफाँटलाई जोगाउन म्याग्दी नदीका नदीजन्य वस्तुलाई स्काभेटरको माध्यमद्वारा गाउँतर्फ स्थानान्तरण गरी गाउँ संरक्षण गर्ने काम शुरु भएको छ ।

विसं २०५७ मा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तररूपमा नदी कटानका कारण गाउँ नै जोखिममा परेपछि विगतका वर्षमा सामान्य ग्याविन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भए पनि त्यो प्रभावकारी भएको थिएन । करीब २०० घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहे पनि बर्खामा भने नदी कटानका कारण सधैँ जोखिममा रहने गरेको स्थानीयवासीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार