कविता: केही त बेठीक छ

सुधन सुवेदी

बिरामीका ढुकढुकी नापेर

ओखती गर्नपर्ने

मल्हमपट्टी गरी दु:ख दूर गर्नेहरू

एकथरी

आफ्नै स्वास्थ्यलाई पर हुत्याएर

बारम्बार अनसन बस्छन्

अर्काथरी

रेल र बाटाका कुरा गर्छन्

देश विकासका अनेक पाटा पहिल्याउँछन्

त्यहीँ

विकासका पहरेदारचाहिँ

‘विकास केही हैन, मानसिक सन्तुष्टि नै सबथोक हो

आखिर सबको बाटो एउटै हो’ भनी

आध्यात्मिक कुरो बाँड्छन्

जीवन र जगतका ज्ञातासरि

अनि दाह्री पाली, गृहस्थ फाली

घसी खरानी बजाई झ्याम्टा

संन्यासी घरदैलो गरी अन्न माग्न आउँदैन

न त जीवनका विविध रङका बारे दर्शाउँछ

ऊ त नोट गन्न, छाप्न तल्लीन छ

कमन्डलुको ठाउँमा कार्ड छ हातमा

पैसा छाडेर आत्मिक, आध्यात्मिक यात्रा तय गर्नेहरु

एटीएम अनि बैँकमा भेटिन्छन्

तब भन्न मन लाग्छ—

कहीँ कतै केही पक्कै गलत छ

गन्तव्य उही, यात्रा फरक हुनु पर्नेमा

यात्रा उही छ, गन्तव्य फरक छ

सोच उही, कर्म फरक छ

वस्त्र पक्कै फरक छ

मन उही छ, मतलब फरक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार