राष्ट्रिय परिचयपत्रबारे संसदीय समितिमा बहस शुरु

काठमाडौँ – बहुपयोगी प्रमाणपत्रका रुपमा रहने ‘राष्ट्रिय परिचयपत्र’को हुनसक्ने दुरुपयोग रोक्न कानून निर्माणकै बखत चनाखो बन्न सरकारलाई सुझाव दिइएको छ ।

संसद्ले राष्ट्रिय परिचयपत्रको प्रयोग ठिक ढङ्गबाट गर्न सकिएन र उपयोग गर्नेबाटै दुरुपयोग हुनसक्ने सम्भावनाका दृष्टिकोणले सरकारले कानून तर्जुमाकै चरणमा विश्लेषण गर्न सल्लाह दिएको हो ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का सम्बन्धमा संशोधनकर्ता र सरकारसँग प्रारम्भिक छलफल गरेको हो । बैठकमा सदस्यले राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले राष्ट्रिय परिचयपत्र निर्माण गर्ने प्रविधिको नियन्त्रण र छपाइ नेपालभित्रै रहने व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।

सरकारले तत्काल नागरिकता र राहदानी बाहेक चालक अनुमतिपत्र, मतदाता परिचयपत्र लगायतका परिचयपत्र एउटै कार्डको प्रयोगबाट गर्न सकियोस् भन्ने हेतुले पहुपयोगी परिचयपत्रका रुपमा राष्ट्रिय परिचयपत्रलाई ‘पाइलट प्रोग्राम’का रुपमा अघि बढाएको छ । त्यस क्रममा सरकारले पहिलो चरणमा पाँचथर र सिंहदरबारभित्र कार्यालय रहेका कर्मचारीको राष्ट्रिय परिचयपत्र बनाउने सन्दर्भमा विवरण सङ्कलन गर्ने कार्य शुरु गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार