नेकपा स्थायी कमिटी बैठक : नेतृत्वको कडा आलोचना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी र सरकार सञ्चालनमा आफूखुसी गरेको भन्दै स्थायी कमिटीका सदस्यले आलोचना गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्दै १० जना स्थायी कमिटीका सदस्यले नेतृत्वको आलोचना गरेका हुन् ।

शनिबारदेखि सुरु स्थायी कमिटी बैठकमा अध्यक्षद्वय ओली र दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्षद्वयको प्रतिवेदनलाई काउन्टर दिँदै नेता वामदेव गौतमले फरक प्रतिवेदन प्रस्तुत गरेका थिए । पार्टी र सरकार सञ्चालन विधि, प्रक्रिया र मापदण्डविपरीत भएको भन्दै अध्यक्षद्वय ओली र दाहालको आलोचना गर्दै उनीहरूले सच्याउन माग गरे । विधानविपरीत स्वेच्छाचारी ढंगले पार्टी सञ्चालन भइरहेको भन्दै उनीहरूले नसच्चिए दुर्घटना हुने चेतावनी दिए ।

स्थायी कमिटीका सदस्य घनश्याम भुसालले पार्टीमा नश्लवाद हावी भएको भन्दै सरकार र पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् । नेतृत्वको कार्यशैली र व्यवहार भोलिका दिनमा नसच्चिए ठूलो दुर्घटना हुने खतरा रहेको उनले बताए । ‘पार्टी नेतृत्वको नश्लवादी शैली सच्चिनुपर्छ, विधानको उल्लंघन नेतृत्वबाटै हुने काम भइरहेको छ,’ भुसालले भने, ‘नेतृत्वको कार्यशैली र व्यवहार नसच्चिए ठूलो दुर्घटना हुन सक्छ ।’

पार्टी सञ्चालनदेखि सरकार सञ्चालन सबैतिर मनपरी भइरहेको बताउँदै उनले एकता प्रक्रिया टुंगो लगाउन नेतृत्वले चासो नदिएको आरोप लगाए । पार्टीको निर्णयकै आधारमा सरकार सञ्चालन हुनुपर्ने भए पनि त्यसो हुन नसक्नुको कारण भुसालले माग गरे । अर्का सदस्य गणेश साहले सरकार श्रमजीवी र मजदुर वर्गको हो भन्ने कुरा महसुस गर्न नसकिएको बताए । कम्युनिस्ट नेतृत्वको सरकार भए पनि आम श्रमजीवी एवं मजदुर वर्गको पक्षमा कुनै काम गर्न नसकेको आरोप उनले लगाए ।

‘यो सरकार कम्युनिस्ट नेतृत्वको सरकार हो त्यसैले आम श्रमजीवी वर्गले अपनत्व महसुस हुनेगरी कार्यक्रम आउनुप¥यो,’ साहले भने, ‘सुखी नेपाली समृद्ध नेपाल सरकारको नारा रहेको भए पनि सोही बमोजिमका कार्यक्रम लागू गर्न सकिएको छैन् ।’

पार्टी विधानअनुसार सञ्चालन नभएको आरोप लगाउँदै उनले नियमित बैठकका साथै सामूहिक निर्णयकै आधारमा एकता प्रक्रिया टुंगो लगाउनुपर्ने बताए । उनले अध्यक्षद्वयका साथै नेता गौतमको फरक प्रतिवेदनलाई एउटै प्रतिवेदन बनाउनुपर्ने बताउँदै दुवै प्रतिवेदनका राम्रा विषयलाई समेटनुपर्ने सुझाव दिए ।

पार्टीको बैठक नियमित नहुने, विधानको उल्लंघन नेतृत्वबाटै हुने, मापदण्डविपरीत संगठन निर्माण गर्नुका साथै जनता एवं पार्टी घोषणाविपरीत सरकारले काम गरिरहेको बताउँदै नेता साहले सच्चिन आग्रह गरेका छन् ।

स्थायी कमिटी सदस्य वेदुराम भुसालले पार्टी विधान एवं मापदण्ड मिच्दै प्रदेश कमिटी गठनका साथै आफूनिकटका नेतालाई दोहोरो जिम्मेवारी दिएको बताए । विधानअनुसार नियमित बैठक नभएको बताउँदै उनले पार्टी नेतृत्वको आलोचना गरे । उनले योग्यता मिच्दै आफूखुसी गर्न खोजिएको आरोप लगाए ।

‘नियमित बैठक बस्दैन, पार्टी नेतृत्वको मनपरी चलिरहेको छ,’ भुसालले भने, ‘आफूनिकट भएकै कारण मापदण्डविपरीत एवं योग्यता मिच्दै दोहोरो जिम्मेवारी दिने काम भयो ।’

बैठकमा सहभागी एक नेताका अनुसार हरिबोल गजुरेल र अग्निप्रसाद सापकोटाले पार्टी नेतृत्वको सवालमा नरम प्रस्तुती दिए पनि सरकारको सवालमा कडा आलोचना गरेका छन् । जनताको चाहना एवं पार्टी घोषणापत्रविपरीत सरकार अघि बढ्न खोजेको बताउँदै गजुरेल र सापकोटाले एकजुट भएर एकता टुंगो लगाउनुपर्ने बताए ।

फरक राजनीतिक प्रतिवेदन पेस गरेका नेता गौतमले नेतृत्वको कडा आलोचना गर्दै पार्टी एकता टुंगो लगाउनमा ढिलाइ भइरहेको बताए । मापदण्ड, विधान एवं प्रक्रियालाई लत्याउँदै नेतृत्व अघि बढ्न खोजेको आरोप लगाउँदै उनले बुँदागत रूपमा पार्टी र सरकार सञ्चालनका लागि सुझाव दिए ।

बैठकमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायतका नेताले राजनीतिक प्रतिवेदनमा आफ्नो धारणा राख्दै पार्टी एकता छिटो टुंगो लगाउन सुझाव दिएका छन् ।

पार्टी एकलौटी बनाएको, विधि र प्रक्रियाअनुसार पार्टी नचलेको जस्ता गुनासो र आक्रोश नेताहरूले बैठकमा राखेका छन् । यसैगरी, सरकारको नेतृत्वसमेत गरिरहेका पार्टी अध्यक्ष ओलीको कडा रूपमा आलोचना गर्दै पार्टी घोषणापत्र र जनताको चाहनाअनुसार काम गर्न सुझाव दिएका छन् ।बैठक मंगलबार पुनः बस्ने र धारणा राख्न बाँकी सदस्यले आफ्नो धारणा राख्ने नेकपा महासचिव विष्णु पौडेलले बताए ।

महासेठको नियुक्तिप्रति साहको आपति

नेकपा स्थायी कमिटीमा रघुवीर महासेठलाई नियुक्त गरेपछि त्यसको विरोध भएको छ । नेकपा केन्द्रीय सदस्य श्रीप्रसाद साहले पार्टी अध्यक्षद्वय र महासचिवलाई निवेदन दिँदै महासेठको नियुक्तिप्रति विरोध जनाउनुका साथै खारेज गर्न माग गरेका छन् ।

पार्टी विधानविपरीत महासेठलाई स्थायी कमिटीमा नियुक्ति गरिएको भन्दै नेता साहले उनको नियुक्ति खारेज गरी उनका ठाउँमा धर्मनाथ साह, रामपृत पासवान, नागेन्द्र चौधरी, लालबाबु पण्डित, योगनारायण यादव, सत्रुधन महतो, वंशीधर मिश्र, बैजनाथ चौधरीमध्येबाट नियुक्ति गर्न माग गरेका छन् ।

यी नेताभन्दा महासेठ जुनियर भएको भन्दै साहले सिनियर नेतालाई स्थायी कमिटीमा नियुक्ति गर्नुपर्ने माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार