निर्मलाको हत्यारालाई संरक्षण नगर्न सरकारलाई देउवाकाे चेतावनी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्नुको सट्टा सरकारले दोषीलाई बचाउने प्रयास गरेको बताएका छन् । घटना घटेको तीन महिना हुँदा पनि सरकारले दोषीलाई कारबाही नगरेको भन्दै देउवाले सरकारको चर्को विरोध गरे ।

‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ । हत्यारा र बलात्कारीलाई बचाउने प्रयास भइरहेको छ । सरकारले अहिलेसम्म कसैलाई कारबाही गरेको छैन। यसबाट स्पष्ट हुन्छ सरकारले बलात्कारी हत्याराहरूलाई कडा कारबाही गर्नुको सट्टा उल्टो बचाउने प्रयास गरेको छ’, नेपाल तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा शनिबार देउवाले भने, ‘यतिका दिनसम्म किन हत्यारा पत्ता लागेन? किन कारबाही गरिएन?’ दोषीलाई संरक्षण नगर्न सरकारलाई देउवाले चेतावनी दिए ।

‘हत्यारा हत्यारा नै हुन्छ। बलात्कारी बलात्कारी नै हुन्छ, यो कसैको कुनै पार्टीको हुँदैन। जो सुकै होस् उसलाई कारबाही गर्नुपर्छ’, उनले भने, ‘यस्तो जघन्य अपराधको घटनाका दोषी पत्ता लगाएर छिटो कारबाही गरिएन भने हाम्रो पार्टी चुप लागेर बस्दैन।’

गत साउन १० गतेदेखि हराएकी बालिका निर्मलाको शव ११ गते फेला परेको थियो। यस्तै, सभापति देउवाले भातृ संस्था तरुण दललाई देशव्यापी संगठन विस्तार गर्न आग्रह गरे। तरुण दलले निर्वाचनदेखि सामाजिक कार्यमा गरेको योगदानको उनले प्रशंसा गरे। तरुण दलका सभापति जीतजंग बस्नेतले पार्टीको निर्देशनअनुसार जनताको भलाइका लागि जस्तोसुकै जिम्मेवारी दिए पनि पूरा गर्ने बताए। वि.सं. २०१० सालमा बीपी कोइरालाले तरुण दल स्थापना गरेको सम्झनामा तरुण दलले स्थापना दिवस मनाएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार