दसैं मनाउन उपत्यकाबाट २३ लाख यात्रु बाहिरिए

काठमाडौं – आइतबारसम्ममा काठमाडौं उपत्यकाबाट दसैं मनाउन २३ लाख यात्रु बाहिरिएका छन् । देशका पूर्वी, मध्य र पश्चिमी सबै क्षेत्रका दैनिक ८ हजार यात्रु नागढुङ्गा, कोटेश्वर तथा बल्खु नाका हुँदै बाहिरिएका हुन् ।

दसैंको सयमया ट्राफिक जामको अत्यधिक समस्या हुने कलंकी–नागढुङ्गा–नौबीसे खण्डमा ट्राफिक जाम हुन नदिन १२ चक्केभन्दा ठूला मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक जितेस दाहालले जानकारी दिए । दसैंको मौका पारेर सरकारले तोकेभन्दा बढी भाडा लिने काउन्टरका व्यवसायीहरु यात्रुको गुनासोपछि यात्रु सहायता कक्षका प्रहरीको कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न १२ स्थानमा स्थापना गरिएको सहायताकक्षमा दैनिक करिब १० जना यात्रुले व्यवसायीले बढी भाडा असुलेको गुनासो राख्ने गरेको महाशाखाले जनाएको छ ।

उपत्यकाको ट्राफिक जाम र विभिन्न कारण तोकेको समयमा बसपार्क आइनपुगी छुटेका यात्रुलाई ट्राफिक प्रहरीको सहयोगमा कलंकी, नागढुङ्गा आदि स्थानबाट बसमा चढाइँदै आएको पनि निरीक्षक दाहालले बताए । “समयकै बसपार्क नआएर गाडी छुटाउने दैनिक ८ देखि १० यात्रुहरु ट्राफिक प्रहरीकहाँ आइपुग्ने गरेका छन् । यस्ता यात्रुलााई हामीले कलंकी, नागढुङ्गा आदि स्थानबाट गाडी चढाउने गरेका छौं,” निरीक्षक दाहालले भने, “पछिल्लो ३ दिनमा उपत्यकामा मात्रै ३६ चालकलाई मापसे कसुरमा जरिवाना गरिएको छ । २० वर्षे पुराना गाडी सञ्चालन गरे, सीट क्षमताभन्दा बढी यात्रु चढाए र तीव्र गतिमा गाडी हाँक्ने चालक पनि हाम्रो उच्च निगरानीमा छन् ।”

गत वर्ष दसैं मनाउन उपत्यकाबाट २५ लाख यात्रु बाहिरीएका थिए । यसवर्ष दसैं मनाउन करिब ३० लाख यात्रु उपत्यकाबाट बाहिरिने महाशाखाको आकलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार