नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं – नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस आज सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको  हो । दुर्घटनामा ५५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी नुवाकोटको पञ्चकन्या गाँउपालिका–४ थप्रेकका २८ वर्षीया मिनु तामाङ र ५९ वर्षीय भगवान कडेंल तथा चितवन स्थित मुग्लिङका ५६ वर्षका बलराम तिवारी रहेका छन् । नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुंवरको अनुसार तामाङ र तिवारीको घटनास्थलमा नै मृत्यु भएको र कँडेलको उपचारको क्रममा काठमाडौ स्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी ५५ जना घाइते भएका छन । दुर्घाटनामा परी गम्भीर घाइते भएकामध्ये ३३ जनालाई थप उपचारको लागि काठमाडौ पठाइएको छ भने २२ जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका मध्ये चारजनालाई हेलिकोप्टर मार्फत र बाँकीलाई एम्बुलेन्समार्फत काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।

दुप्चेश्वर गाँउपालिका–३ राउतवेशीको झगरेबाट त्रिशूलीतर्फ छुटेको बा.१ ख ६३५६ नं. को बस बिहान करिब दश बजे गणशस्थानको छेरीखोला भन्ने ठाँउमा दुर्घटनामा परेको थियो । पूरानो गाडीमा क्षमताभन्दा बढी यात्रु राखेर तिव्र गतिमा रहेको बसले सन्तुलन गुमाएर दुर्घटना हुँदा सडकबाट एकसय मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको क्रममा बसको अगाडितर्फको दुवै पाङ्ग्रा सडकमा रहेको थियो भने बस दुई फन्को लगाएर सिञ्चाई नहरमा पुगेर अड्किएको दुर्घटनामा घाइते हुनुभएका तादी–२ रालुकादेवीका रामकुमार अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार