पब्लिक कम्पनी बनाएर अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध एयरको घोषणा

काठमाडौं – निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले ३० प्रतिशत सेयर आफूले राखेर बाँकी ७० प्रतिशत पब्लिक कम्पनीमा परिणत गरी अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ । बुद्धले सन् २०२१ अगस्ट १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा एक वर्षअघि नै गरेको थियो ।

बुद्धका प्रबन्धक निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अन्तर्राष्ट्रिय उडान पब्लिक कम्पनीमार्फत गर्ने जानकारी दिए । “बुद्धको अन्तर्राष्ट्रिय उडान पब्लिक कम्पनीमार्फत हुने छ, जसमा हामी ३० प्रतिशतमात्र सेयर लिने छौं र बाँकी ७० प्रतिशत पब्लिकलाई दिइने छ,” कम्पनी स्थापनाको २१ वर्ष पूरा गरी २२ वर्ष लाग्नु एक दिनअघि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आफ्नै ‘ह्यांगर’ मा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले भने, “तर, आन्तरिक उडान भने हामी निजी कम्पनीमार्फत नै गरिरहने छौं ।”

प्रबन्ध निर्देशक बस्नेतले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार हुनासाथ अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने जानकारी दिए । पहिलो चरणमा छिमेकी भारत र चीनका केही सहरमा उडान सञ्चालन गर्ने उनको योजना छ । “हामी सकेसम्म ‘बोइङ७३७म्याक्स’ सिरिजका जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्ने योजनामा छौं,” उनले भने ।  उनका अनुसार आन्तरिक उडान गर्न भने फ्रान्सेल जहाज निर्माता कम्पनी एटिआरमा उत्पादित ‘एटिआर७२–५००’ र ‘एटिआर४२–३२०’ सिरिजका जहाज नै प्रयोग गरिने छ । “आन्तरिक उडानमा जेट इन्जिनजडित प्रयोग गर्ने सोचाइमा छैनौं,” उनले भने ।

स्थापनाको २१ वर्ष पूरा गर्दा बुद्धसँग १ हजार कर्मचारी प्रत्यक्ष काम गरिरहेका छन् भने सातै प्रदेशमा उडान सञ्चालन गरिरहेको छ । बढ्दो महँगीलाई ध्यानमा राखेर उडान भाडा दर यात्रुमैत्री बनाएको बुद्धले दाबी गरेको छ ।  “हामी हाल वार्षिक १५ लाख यात्रुलाई गन्तव्य पुर्‍याइरहेका छौं,” प्रबन्ध निर्देशक बस्नेतले भने, “आन्तरिक उड्डयन बजारमा ५२ प्रतिशतहाराहारी हिस्सा ओगट्न सफल भएका छौं र यसलाई अझै बढाउँदै लाने गरी काम गरिरहेका छौं ।”

बुद्धसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका ६ थान ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन् ।  हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ ।

पत्रकार सम्मेलनमा फ्रान्सेली जहाज निर्माता कम्पनी एटिआरको पूर्वी देश हेर्ने बिक्री तथा सेवा प्रमुख बिल्ली ओले लामो सयमदेखि नेपालको प्रमुख आन्तरिक वायुसेवा बुद्ध एयरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । दक्ष कर्मचारीका कारण बुद्ध अहिलेको अवस्थामा आइपुगेको उनको भनाइ थियो । “उडान सुरक्षा, यात्रुको सन्तुष्टि, तोकिएको समयमै मर्मतजस्ता विशेषताका कारण बुद्ध अन्य वायुसेवाको दाँजोमा सधैं अग्रणी रहेको हो,” उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार