मालपोत कार्यालयमा आजदेखि ‘सरलीकृत फारम’ को व्यवस्था

काठमाडाैं – सरकारले भूमि सुधार तथा मालपोत कार्यालयहरूमा सेवाग्राहीको कामलाई सहज बनाउन ‘सरलीकृत फारम’ को व्यवस्था गरेको छ। भूमिसम्बन्धी सेवाग्राहीको कामलाई सहज, सुलभ र पारदर्शी बनाउने उद्देश्यले सरकारले मंगलबारदेखि भूमि सुधार तथा मालपोत कार्यालयहरूमा सरलीकृत फारम सेवा सुरू गरेको हो।

ललितपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा एक कार्यक्रमबीच सो सेवाको उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जनतालाई सहज, सुलभ र पारदर्शी ढंगले भूमिसम्बन्धी सेवा उपलब्ध गराउन सो सेवाको पनि उद्घाटन गर्नु परेको स्पष्ट पारे। ३४ वटा भूमि सुधार तथा मालपोत कार्यालयहरूमा एकसाथ उद्घाटन गरिएको सो सरलीकृत फारम सामान्य नागरिकले पनि भर्न सक्ने गरी व्यवस्था गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए।

मन्त्रालयले एक वर्षभित्र १ सय ५ वटै भूमि सुधार तथा मालपोत कार्यालयहरूमा सो सरलीकृत फारमको व्यवस्था गर्न लागिएको पनि जनाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक वर्षभित्र सबै भूमि सुधार तथा मालपोत कार्यालयहरूमा अनलाइन सेवा सञ्चालनमा ल्याउने महत्वकांक्षी योजना पनि यस अघि नै सार्वजनिक गरिसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार