झोक्किएर प्रम निवास पुगेका राजपाका नेता भन्छन्- उहाँ नै पीडितजस्तो देखिनुभयो

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेकै दलले मुलुकमा ‘सरकारको प्रत्याभूति नभएको’ भन्दै प्रधानमन्त्रीसामु राेष प्रकट गरेकाे छ । सरकारलाई समर्थन गरेको संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्रीलाई भेटेरै सरकारको आलोचना गरेको हो ।

प्रधानमन्त्री ओलीलाई भेटेर राजपा अध्यक्ष मण्डलका नेताहरुले सरकारको आलोचना गर्दै समर्थन फिर्ता लिने चेतावनी दिँदै त्यसका लागि डेडलाइनसमेत दिएका छन् । आफूहरुसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै पाँचौं पटक ज्ञापनपत्र बुझाउन गएका राजपाका नेताहरुले प्रधानमन्त्री ओलीलाई छठसम्म संविधान संशोधन र रेशम चौधरीको रिहाइको प्रक्रिया अगाडि नबढे समर्थन फिर्ता लिने समय तोकेका छन् ।

‘छठ पर्वसम्म संविधान संशोधन र सांसद रेशम चौधरीको रिहाइको प्रक्रिया अगाडि नबढे हामीले दिएको समर्थन फिर्ता लिने समय सीमा तोकेको जानकारी प्रधानमन्त्रीलाई दिएका छौं,’ राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले भन्नुभयाे, ‘यस पटक हाम्रो माग सम्बोधन भएन भने हामी समर्थन फिर्ता लिनुको विकल्प रहने छैन । सोही जानकारी प्रधानमन्त्रीलाई दिएका छौं ।’

‘हामीसँग दुई तिहाइको सरकार छ तर अपेक्षित सहयोग पाएका छैनौं । कर्मचारीहरुले पनि सहयोग गरेका छैन । राम्रो काम गर्ने प्रयास गरे पनि प्रतिफल देखिएको छैन,’ राजपाका नेतासामु ओलीले दिएको प्रतिक्रिया यही थियो । संविधान संशोधनको विषयमा छलफल अगाडि बढाउने आश्वासन दिँदै राजपाका नेतारुलाई ओलीले भने, ‘२७-२८ गते तिर फेरि हामी बसौं। निष्कर्षमा पुगौं।’ प्रधानमन्त्री ओली मधेशको मागका विषयमा यसअघिको भन्दा बढी लचक देखिएको प्रतिक्रिया राजपाका नेताहरुले दिए ।

‘हामीले ज्ञापन पत्र बुझायौं। आफ्नो कुरा राख्यौं तर प्रधानमन्त्री ज्यूले आफ्नो समस्याहरु सुनाउनु भयो,’ राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भन्नुभयाे, ‘उहाँ आफै पीडित भएको जस्तो देखिनुभयो ।’ राजपा अध्यक्ष मण्डलका सदस्यहरुले प्रधानमन्त्री ओलीलाई भेट्न दुई दिनदेखि समय माग गरिरहेका थिए । तर, उपलब्ध गराइएको थिएन । ***

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार