किन स्थगित भयो नेकपा सचिवालय बैठक, यस्तो छ कारण

काठमाडौं – नेताहरुबीचको विवादको टुंगो नलागेपछि आइतवार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । नेकपाका फरक फरक गुटका नेताहरुबीचको विवाद अहिले सतहमा आएको छ ।

विशेषगरी नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवादले अझै निकास लिएको छैन । वरिष्ठ नेता नेपालले पार्टी मुख्यालयमा आफ्नो असन्तुष्टि पत्र नै दर्ता गराएका छन् । आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गराएको ‘असहमति पत्र’ र मातहतका कमिटी एकता प्रक्रियाको विषयमा छलफल हुने बताइएको थियो ।

गत असोज ५ गतेको सचिवालय बैठकका निर्णय विवादमा आएपछि यो बैठक बस्न लागेको थियो । वरिष्ठ नेता नेपालको असहमतिपछि दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको शुक्रबार भएको छलफलले सचिवालय बैठक बोलाउने निर्णय गरेको थियो । बैठकमा नेता नेपालको असहमति पत्र, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटी पदाधिकारी तथा सदस्यबारे पूर्वनिर्धारित मापदण्डमा थप मापदण्ड बनाउने विषयमा छलफल गर्ने योजना थियो ।

वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेशमा रहँदा सचिवालय बैठकले प्रदेश कमिटी इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो । बैठकपछि प्रदेश पदाधिकारीलाई प्रदेश कमिटीले पूर्णता नपाएम्म गर्ने कामको निर्देशनसहित अध्यक्षद्वय ओली र दाहालले आठबुँदे निर्देशन समेटिएको विशेष पत्र पठाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार