रोनाल्डो प्रतिबन्धमा परेको खेलमा डिबालाको ह्याट्रिक

काठमाडाैं – पाउलो डिबालाले ह्याट्रिकमा युभेन्ट्सले योङ ब्वाइजलाई ३-० ले हराएको छ । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ‘एच’ को खेलमा क्रिस्टियानो रोनाल्डो प्रतिबन्धमा परेपछि ‍डिबाला पहिलो रोजाइमा खेल्ने मौका पाएका थिए। उनले उक्त अवसरको सदुपयोग गर्दै ह्याट्रिक गरेका हुन् ।

खेलको पाँचौ मिनेटमा गोलको खाता खोलेका उनले ३३औं र ६९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । लिओनार्डो बोनुचीको क्रसलाई सदुपयोग गर्दै युभेन्ट्सको लागि डिबालाले गोलको खाता खोलेका थिए । पहिलो हाफको ३३ औं मिनेटमा मिडफिल्डर ब्लेस माटुइडीको प्रहार गोलरक्षकले राम्रोसँग बचाउन सकेनन् । त्यहीँ फर्केर आएको बललाई पोस्टको दिशा दिँदै डिबालाले युभेन्टसलाईको अग्रता दोब्बर पारे ।

खेलको ६९ औं मिनेटमा डिबालाले ६ यार्ड बक्सभित्र खाली पोस्टमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । उनले जुआन क्वाडराडोको पासमा तेस्रो गोल गरेका थिए । त्यसको केहि बेरमै योङ ब्वाइज १० खेलाडीमा सिमित भएको थियो । ३ मिनेटको अन्तरमा मोहमद अलि कामराले दोहोरो पहेंलो कार्ड पाएपछि बाहिरिएका थिए ।

यो जितसँगै युभेन्ट्स अंक तालिकाको शीर्ष स्थानमा छ । अघिल्लो खेलमा भ्यालेन्सियालाई २-० ले पराजित गरेको युभेन्ट्सले अर्को खेलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । भ्यालेन्सियाविरुद्ध रातो कार्ड पाएका रोनाल्डो पनि त्यस खेलका लागि उपलब्ध हुने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार