जोडिए दुई धार्मिक गन्तव्य, दक्षिणकाली-साँखु रुटमा ३४ बस

काठमाडौं – सरकारले यातायात संघ, समिति खारेज गरी सार्वजनिक गाडीलाई कम्पनीमा दर्ता हुन निर्देशन दिएपछि यातायात प्रालिहरु खुल्ने क्रम बढेको छ । व्यवसायीहरुबीच आपसमा यात्रुलाई दिइने सुविधाबीच तीव्र प्रतिष्पर्धा हुन थालेको छ ।

यसैक्रममा बाबा गोकर्णेश्वर अटो प्रालिले काठमाडौंको साँखुदेखि दक्षिणकाली रुटमा ३४ वटा नयाँ बस सञ्चालनमा ल्याएको छ । औपचारिक उद्घाटन गर्दै उक्त कम्पनीले नयाँ बस मंगलबारदेखि सञ्चालनमा ल्याएको हो । कम्पनीसँग ८१ वटा बस रहेकोमा उपत्यकाका विभिन्न स्थानमा कम्पनीले सेवा सञ्चालन गर्दै आएको छ । एक महिनादेखि उपत्यकाका अन्य रुटमा सञ्चालन भएका १० बस र सोमबार कम्पनी आएका २४ बससहित ३४ वटा नयाँ बसले मङ्गलबारबाट साँखु–दक्षिणकाली रुटमा सेवा सुचारु गरेको कम्पनीका अध्यक्ष भीम बस्नेतले बताए ।

“अब करिब एक हप्तामै थप ६ वटा बस सोही रुटमा सञ्चालन गर्ने कम्पनीको योजना छ,” कम्पनीका सचिव रोशनबाबु श्रेष्ठले भने । केही बसमा सीसी क्यामेरा पनि जडान गरिएको छ । यात्रुलाई समयमै गन्व्यमा पुर्याउने, बसमा छुटेका सामान जतनसाथ यात्रुलाई नै फिर्ता गर्ने र चालक, सहचालकले सभ्य र शिष्ट भाषा बोल्ने कम्पनीका बसका विशेषता रहेको कम्पनीले जनाएको छ ।

“बच्चासहितका महिला, अशक्त र पत्रकारलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौं, यस्ता वर्गका लागि विशेष आरक्षण सिटको व्यवस्था गरेका छौं,” अध्यक्ष बस्नेतले बाह्रखरीसँग भने, “अशक्त र महिला सिटमा अशक्त र बच्चा बोकेका आमा प्राथमिकतामा नपर्ने गरेकाले हामीले बच्चा, महिला र अशक्तलाई सुविधा दिन आरक्षण सिटको व्यवस्था गरेका हौं । रिपोर्टिङमा हिँडिरहने पत्रकारहरुलाई सहज यातायात सुविधा दिन हामीले २ वटा पत्रकार आरक्षण सिट पनि छुट्याएका छौं ।”

बसमा चोरी र पाकेटमारी नहुने पनि कम्पनीको दाबी छ । सो रुटमा एउटा बसले दैनिक एकदेखि दुई ट्रिपसम्म गर्ने अध्यक्ष बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार