निजगढ विमानस्थल निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन सरकारलाई निर्देशन

काठमाडाैं – संसदीय समितिले जनचासोको विषयलाई तत्काल सम्बोधन गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले वन कटान गर्नेलगायतका विवादित विषयलाई सम्बोधन गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम द्रूत गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । जनचासोको विषयलाई समेत सम्बोधन गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई द्रुत गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति दिलकुमारी रावलले जानकारी दिइन् ।

समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम एक वर्षभित्र सम्पन्न गर्न पनि सरकारलाई सचेत गराएको छ। त्यसैगरी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई सुचारु गराउन जग्गाको मुआब्जासम्बन्धी व्यवस्था तत्काल गर्न पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिइएको छ । समितिले पशुपति क्षेत्र विकास कोषको सम्पत्ति पारदर्शी बनाउन पनि सरकारलाई निर्देशन दिएको छ । पशुपतिनाथ दर्शनमा उठेका भेटीलगायतका सम्पत्ति पारदर्शी बनाउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति रावलले जानकारी दिइन् ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले जनचासाको विषयलाई सम्बोधन गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। उनले सो विमानस्थल निर्माण गर्दा वन क्षेत्रको फडानी कम होस् भन्नेमा सरकार सचेत रहेको पनि समिति समक्ष जानकारी गराए । मन्त्री अधिकारीले विस्तृत परियोजना प्रतिवेदन तयार पारेरै सो विमानस्थल निर्माणको काम अघि बढाएको दाबी पनि गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार