पीपीएलमा यी हुन् पहिलो राउन्डका ५ सर्वाधिक महँगा खेलाडी

काठमाडौं – पोखरा प्रिमियर लिग (पीपीएल) अक्शनको पहिलो राउन्ड सकिँदा राष्ट्रिय क्रिकेट टोलीका ५ जना खेलाडी सर्वाधिक महँगो मूल्यमा टिममा अनुबन्ध भएका छन् । काठमाडौंमा भएको अक्शनमा विनोद भण्डारी, सागर पुन, करन केसी, रोहितकुमार पौडेल र अनिलकुमार शाह सर्वाधिक महँगो मूल्यमा विभिन्न टिममा अनुबन्धित भएका हुन् ।

पहिलो राउन्डको अक्शन सकिँदा रोहितकुमार पौडेल र अनिल कुमार शाहलाई पीपीएलमा सहभागी सबै टिमले बोली लगाएका थिए भने करन केसीलाई ५ टिमले बोली लगाए ।
त्यस्तै विनोद भण्डारीलाई ४ टिमले आफ्नो टिममा लिन बोली लगाउँदा सागर पुनका लागि २ टिमले प्रतिस्पर्धा गरे । करन केसीका लागि हुलास काठमाडौं रोयल्स, एक्पर्ट धनगढी ब्लुज, चितवन राइनोज, बुटबल ब्लास्टर्स र पोखरा पल्टनले बोली लगाए । त्यस्तै, ५ टिममध्ये करन केसीलाई राष्ट्रिय टोलीका कप्तान पारस खड्का मार्की खेलाडी रहेको चितवन राइनोजले अनुबन्ध गरेको छ ।

त्यस्तै, महत्वपूर्ण खेलाडी विकेट किपर ब्याट्सम्यान विनोद भण्डारीका लागि हुलास काठमाडौं रोयल्स,  विराटनगर टाइटन्स, एक्पर्ट धनगढी र पोखरा पल्टनले बोली लगाएका थिए भने शरद भेषावकर मार्की खेलाडी रहेको पल्टनले उनलाई अनुबन्ध गरेको हो । नेपालका भरपर्दा ब्याट्सम्यान सागर पुनका लागि भने अन्तिमसम्म बुटबल र विराटनगर टाइटन्सले बोली लगाए । जसमा सोमपाल कामी मार्की खेलाडी रहेको बुटबल ब्लास्टर्सले उनलाई अनुबन्ध गरेको छ ।

राष्ट्रिय टोलीका सदस्यहरुको न्यूनतम मूल्य १ लाख ५० हजार हो । यो सँगै अहिलेसम्म राष्ट्रिय टोलीका बलिया दुई—दुई जना खेलाडीलाई चितवन राइनोज र पोखरा पल्टनले भित्र्याएको छ । चितवनका मार्की खेलाडी पारस खड्काले अनिल कुमार शाह र करन केसीलाई अनुबन्ध गरे । त्यस्तै, अर्को टिम पोखरा पल्टनका मार्की खेलाडी शरद भेषावकरले रोहित कुमार पौडेल र विनोद भण्डारीलाई टिममा अनुबन्ध गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार