भुल्न नसकिने भोजको स्वाद

पोहोर साल नेता ज्यूले खुवाएको भोजको स्वाद अझै पनि जिब्रोले भुल्न सकेको छैन। धेरै प्रकारका परिकार खाएकाहरुले सायद स्वाद भुलिसके होलान् । तर मैले अझै सम्म भुल्न सकेको छैन् । र भुल्नु पनि कसरी? अझै करिब चार वर्ष बाँकि छ । नारामा सुकाएको स्वरलाई विजयको भोज खाएर अन्य झै मैले पनि अलि राहत दिलाएको थिए ।

ति मध्ये पनि कतिपयले आफ्नो अनुकुलको भोज भएन भनेर अनुहार खुम्चाउँदै असन्तुष्टको डकार निकाले । बिचारा नेता ज्यू एक्लै कतिको चित्त बुझाउन सक्थ्ये र ? आखिर नेता ज्यू पनि हामी जस्तै मानव नै पर्नु भो । भगवान् त होईन नी ? चमत्कार गर्नलाई । चमत्कार त बरु उनलाई चाहँने जनताहरुले गरिदिएका थिए ।

विचरा वैशाख जेठ तिरको घाममा कम्तिका दौडिएनन् । आखिर किन नदौडिउन् त ? सिंहदरवार गाउँमा आउने भएपछि विकासमूखी शासन गर्ने कुशल मानवको खाँचो थियो । त्यसैले चिन्ता चुनावमा उठ्ने भन्दा, गाउँमा बस्नेलाई धेरै थियो । किनभने घातक संहियताको ल्याबको लागि व्याबहारले योग्य र कुशल टेक्निसिएनको खाँचो परेको थियो । त्यसैले उहाँलाई जिताउन भनि सबै आ–आफ्नै तरिकाले लागिपरे ।

विकाश चाहनेहरुले चप्पल घिसारे भने स्वार्थको मुकुट लगाएका कतिपयले टायर चप्पल दुवै घिसारे । आखिर जसले जे घिसारे पनि जिताउनकै लागि घिसारे । नेपालका जनता भेडा बाख्रा हुन भनेर कुनै वरिष्ठ नेता ज्यूले भन्नुभएको उखान मलाई याद छ । यदि यो उखान सुन्नु भएको छ भने सहि सुन्नुभएको छ । यदि सुन्नु भएको छैन् भने एक पटक आफै खोजि गर्ने प्रयास गर्नुहोला । चिप्ला कुरा गरेर आकर्षित गर्ने प्रवृति नेतामा हुनु कुनै नौलो कुरो होईन् ।

नेता ज्यूले जनतालाई छक्काउने र जनताले नेता ज्यूलाई चाखिरहने प्रवृतिले गर्दा सायद कुनै नेता ज्यूले जनताई यस्तो संज्ञा दिनु भएको होला । तर जे जस्तो भएता पनि यस्तो प्रकारको प्रवृति हाम्रो नेता ज्यूमा छैन् । वडा अध्यक्षका रुपमा विजय हनुभएका उहाँ हाम्रै छिमेकी गाउँका हुनुहुन्छ । झट्ट हेर्दा खेरी पनि उहाँ नेता नै कहलिने खालाका देखिनुहुन्छ । एकदमै मिजासिला स्वभावका उहाँ सबै बाट रुचाईएका व्यक्ति पनि हुन् । गाउँमा काला गोरा अरु पनि थिए । तर पाँच वर्षको कठिन यात्राको टिकट उहाँले नै हात पर्नुभो ।

सायद केहि गुण भएरनै होला । अझै बिशेष रुपमा भन्नुपर्दा उहाँको नामनै पूर्ण भएकाले उहाँ कुनै पनि कुरामा अपूर्ण हुनुहुन्न् । कुशल नेता पाएकोमा सबै जना गद् गद् थिए । विजय जुलुमा उहाँलाई भव्य रुपमा गाँउ परिक्रमा गरिएको थियो । स्थानिय जनताको नेतृत्व गर्ने गरिमामय पदमा विजय हुनुभएका नेता ज्यूको अनुहार पुरै अविरले रातिएको थियो । उहाँका आँखा र दाँत बाहेक अरु सबै अस्पष्ट थिए । त्यो अस्पष्ट अनुहार त्यही विजय जुलुसमै सिमित रहोस भन्ने मेरो कामनको लहर एकातिर दौडिरहेको थियो ।

यसरी उहाँको बारेमा लेखिरहँदा तपाईलार्ई सूर्यमुखी बनेको आभास हुनसक्छ । यदि यस्तो सोचिरहनु भएको छ भने मलाई माफ गर्नुहाला । न त मँ सूर्यमुखी, न त गुलाबमूखीनै । म त केवल जनतामूखि र विकाशमूखि मात्र । अवसरमुखी पनि होईन् । हामी सबैले गाउँमा विकासका कुरा भन्दा पनि कामहरु चाँहेका छौ । सबैले हिड्ने सडक बनोस् भन्ने चाहेका छौ । बालबालिकाको भविष्य उज्वल पार्ने विद्यालहरुको लथालिङ्ग भएको अवस्था व्यवस्थित होस् भन्ने चाहेका छौ । स्वच्छ खानेपानी चाहेका छौ ।

वर्षेनि खेतियोग्य जमिनसँगै मानव वस्ति बिचल्ली बनाईरहेको नदि कटानको समस्याको समधान होस् भन्ने चाहिरहेका छौ । यहाँको प्राकृतिक स्रोत ढुङ्गा, बलुवाको अव्यबस्थित निकासीले जिल्ला भित्र र बाहिरका अधिकाशं रोड र घरका जगहरु बलिया भएका छन् । यस्ता प्रकारका गैह« जिम्मेवारी पूर्ण अमानविय क्रियाकलापले नदि कटानको समस्या पल–पलमा बृद्धि भईरहेको छ ।

ढुङ्गा, बलुवाको निकासी कार्य बन्द गरिएको भनिएता पनि व्याबहारमा लागु हुन सकेको छैन् । त्यसैले यस्ता प्राकृतिक सम्पदाको संरक्षण र तिनका स्रोतहरुको सही परिचालन होस् भन्ने चाहेका छौ । अझै यस्ता कैयौ समस्याहरु समाजमा दबिएर रहेका छन् । तिनीहरुको उत्खनन् गर्ने कलाको विकाश होस् भन्ने चाहेँका छौ ।

अहिले सम्म विकासको नाममा गाउँले पहिलो खुड्किलो मात्र पार गरेको छ । वर्षौ देखि साधुरिएका बाटो घाटोहरु फराकिला भए । ती बाटोहरुमा अब सजिल्यौ सँग गाडीहरु ओहोर दोहोर गुड्ने भएका छन् । तर पनि सुहाउँदो ग्राईभिल नहुँदा सास्ती अझै पनि कायमै रहेको आमको बुझाई रहेको छ । पदमा आसिन भईसकेपछि यात्रा एकदमै चुनौतिपूर्ण बनेको छ । त्यसमा पनि अग्नि परिक्षाको यो घडीमा समाजका सम्पुर्ण समस्यालाई पार गर्न अत्यन्त जरुरी रहेको छ । अग्नि परिक्षाको रुपमा समाजमा उपस्थित भैसकेपछि उहाँको भूमिका र उपस्थिति कस्तो रह्यो भन्ने कुराको नतिजा पनि कुनै दिन पकै तयार हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार