मलेसियामा पन्ध्र लाखभन्दा बढी कमाउने नेपाली मजदूर

मलेसिया – वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन बेथितिका भोगाइ हुन्छन् भन्ने नकारात्मक धारणा छ । तर, विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् ।

तिनैमध्येका एक हुन्, सुनसरी जिल्लाको इटहरीका शम क्षेत्री । जो मलेसियाको चेन होटल ‘होटल ग्राण्ड कन्टिनेन्टल’ मा इज्जतिलो पदमा कार्यरत छन् । क्षेत्रीय परामर्शदाताको रुपमा कार्यरत क्षेत्रीले महिनामा १६ लाख रुपैयाँभन्दा बढी कमाउँछन् । इज्जतिलो काम र राम्रै कमाइका साथै उक्त होटलमा माथिल्लो दर्जामा काम गर्न पाउने कमै भाग्यमानीमध्ये पर्छन् क्षेत्री ।

‘इमान र इज्जतसँगै दाम पनि ठीकै छ, महिनामा तलब मात्र १५ लाख रुपैयाँ हुन्छ । यता उता गर्दा १८ देखि माथि पुग्छ,’ चेन होटल चीन, मलेसिया, सिंगापुर, ब्रुनाई, संयुक्त अधिराज्य बेलायत, अस्ट्रेलिया, न्यूजील्याण्डमा गरेर ६२ वटा होटल छन् । क्षेत्रीले उक्त होटलेको एशिया विभाग हेर्छन् ।

शुरूमा चेन होटल सेराटनमा सेवा गरेका क्षेत्रीले लेजन होटल हुँदै अहिले ग्राण्डमा विगत ७ वर्षदेखि कार्यरत छन् । होटल राम्रोसँग चलेको छ । नेपाली धेरै आउँछन् । होटल क्षेत्रको १८ वर्षभन्दा बढीको यात्रामा उनी भन्छन्, ‘यहाँ धेरै नेपालीहरूमा पनि राम्रो पदमा ठूलै कमाइ गर्ने साथीहरु हुनुहुन्छ । उहाँहरूसँग मिलेर नेपालमै केही गरौं की भन्ने सोचाइ पनि छ ।’

नेपालमै उच्च शिक्षा लिएका क्षेत्रीले मलेसियामा होटल व्यवस्थापनमा स्नातकोत्तर गरे । क्षेत्रीलाई पहिला पढ्नै पर्ला जस्तो लाग्दैनथ्यो अहिले काम गर्दै जाँदा शिक्षाको महत्व झल्किएको छ । ‘नेपालमा पर्यटनको भविष्य राम्रो छ किन नेपालीले अरुलाई कमाउन दिने हामी आफैँ लगानी गरेर प्रतिफल लिन सक्छौं,’ उनले भने ।

कमाइसँगै रोजगारी पनि 

क्वालालम्पुरमा व्यवसाय गर्दै आएका व्यवसायी शंकरप्रसाद आचार्य नेपाली रेस्टुराँ तथा डान्स् बार सञ्चालन गर्छन् । यहाँ नेपालीसहित भारत, चीन, इण्डोनेशियाका नागरिकले काम गर्छन् । व्यवसाय राम्रै चलेको छ, भविष्यमा नेपालमै आएर केही लगानी गर्ने सोच बनाएका आचार्य अनुकूल वातावरण सिर्जना गर्न सरकारले ध्यान दिनुपर्ने सुझाउँछन् ।

काठमाडौंका विपीन अम्गाई मलेसियाको सेलाङगोरमा रेष्टुराँ चलाउँछन् । शुरूमा ४ वटा रेष्टुराँ र १ मिनिमार्केट समेत चलाएका उनको हिमाल रेस्टुराँमा नेपालीकै घुइँचो हुन्छ । यो क्षेत्रमा उनीजस्तै अन्य ७ जनाले व्यवसाय गर्छन् ।

नेपालीले रेष्टुराँ व्यवसाय गर्दा कम्तीमा मलेसियन रिङ्गेट १ लाख लगानी गर्नैपर्छ । नेपाली तथा केही विदेशी गरी ३० जनालाई रोजगार दिलाएका उनी शुरूको जस्तो राम्रो व्यवसाय नचलेको बताउँछन् ।

सिन्धुली खुर्कोटका देवीबहादुर चौहान विगत ३ वर्षदेखि होटल ग्राण्डमा काम गर्छन् । हाल १३ नेपाली कार्यरत उक्त होटलमा कम्तीमा मलेसियन रिङ्गेट १८ सयदेखि २५ सयसम्म कमाइ हुन्छ । काम सजिलै छ । काम लगाउने नेपाली नै भएकाले कुनै समस्या छैन । अझै १–२ वर्ष बस्ने योजना सुनाउँदै चौहानले भन्छन्, ‘समग्रमा यहाँ काम गर्ने सामान्य कर्मचारीले महीनाको १ लाख जति कमाइ गर्छन् ।’

क्षेत्रीजस्तै माथिल्लो पदमा काम गर्ने स्ट्याण्डर चाटर्ड बैंकका देशीय प्रमुखमा एक नेपाली हुन् भने क्वालालम्पुरको टुइन टावरको मुख्य इञ्जिनीयरमा दिनेश पौडेल कार्यरत छन् ।

मलेसियामा प्रतिष्ठित कम्पनीमा माथिल्लो तहका काम गर्ने मात्र हैन यहाँका विभिन्न कम्पनीमा काम गर्ने नेपाली मजदूरले पनि राम्रो कमाएर प्रगति गरेका छन् । यहाँको फम कम्पनीमा पाण्डे अप्रेटरको रुपमा काम गर्छन् । कम्पनीमा २ हजारभन्दा बढी नेपाली र बंगालीमध्ये २ सय नेपाली नै छन् । यो कम्पनीमा लामो समयसम्म काम गरेकाले महिनामा २ लाख रुपैयाँ पनि कमाउँछन् । कम्पनीभित्र केही समस्या छैन पर्याप्त सुविधा छ । बाहिर निस्कँदा भने चोरको खतरा हुन्छ ।

सुनसरी इटहरीका एमडी अमदाज मलेसियाकै जोहरबारुको एक गार्मेन्टमा काम गर्छन् । काम राम्रो चलेका बेला महीनामा आरएम २५ सयदेखि २९ सयसम्म कमाइ हुन्छ । कम्तीमा पनि २ हजार हुन्छ । कम्पनीभित्र कुनै समस्या छैन । करीब १८ सय मजदूर रहेको कम्पनीमा नेपाली मात्रै १ हजारको संख्यामा कार्यरत छन् ।

नेपाली धेरै भएकाले काममा पनि रमाइलो हुने अमदाजको भनाइ छ । विश्व पर्यटनको आकर्षणको रुपमा रहेको मलेसियाको सरकारी तथ्यांकअनुसार सन् २०१७ मा ३ करोड ५९ लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२० मा ३ करोड पर्यटक पु¥यउने मलेसियाको लक्ष्य रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार