राजधानी र नामाकरणले तात्याे सुदूरपश्चिम: धनगढीमा आमहड्ताल, भाेलीदेखि डोटी पनि बन्द

काठमाडाैं – प्रदेश ७ को राजधानी र नामाकरणको विषयले सुदूरपश्चिम अान्दाेलित भएकाे छ । प्रदेश ७ काे अस्थायी राजधानी धनगढी लगायत पुरानाे क्षत्रीय सदरमुकाम दिपायलमा पनि अान्दाेलन सुरु भएकाे छ ।

प्रदेशकाे नामाकरण र राजधानी प्रस्तावकाे विरोधमा अाज धनगढीमा आम हड्तालको घोषणा गरिएको छ । मङ्गलवारको प्रदेश सभा बैठकमा प्रलेशको नामाकरण र राजधानी सिफारिस समितिले पेश गरेको प्रतिवेदनको विरोधमा अस्थायी राजधानी धनगढीमा आम हड्तालको घोषणा गरिएको हो।

धनगढीबासीले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दैे राजधानी गोदावरीमा राख्ने संसदीय समितिको प्रस्तावप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाए। धनगढीमा रहेका संरचनामा करोडौं लगानी गरेपछि राजधानी सार्ने गलत निर्णय भईरहेको भन्दै उनीहरुले आपत्ति जनाए।

भौतिक पुर्वाधारले सम्पन्न अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी कायम गर्नुपर्ने उनीहरुको जोड छ। तर यसप्रति प्रदेश सरकार उदासिन रहेको स्थानीयको आरोप छ। विज्ञप्तिमा भनिएको छः ‘भौतिक पुर्वाधारले सम्पन्न अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी कायम गरियोस् भन्ने जोडदार माग गर्दछौं।’

उक्त मागप्रति प्रदेश सरकार उदासिन भएकाले असोज ११ गते धनगढीमा आम हड्तालको कार्यक्रम गरिएको भन्दै प्रदेशको स्थायी राजधानी सार्ने प्रस्ताव फिर्ता गर्नु उनीहरुले माग गरेका छन्। यसअघि बुधवार राजधानी र नामाकरणको विरोधमा धनगढीमा स्थानीयले प्रदर्शन गरेका थिए।

‘सुदूरपश्चिम’ नामले आफूहरु हेपिएको भन्दै प्रदेशको नामाकरण पनि सच्याउनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा ‘प्रदेश ७ को राजधानी धनगढी कायम गर,’ ‘गोदावरी मान्दैनौँ,’ ‘जंगल फडानी गरेर राजधानी बनाउन पाइँदैन’ लगायतका नारा लागेका छन्। धनगढीबाट राजधानी सारिए शसक्त आन्दोलनमा जाने स्थानीयले चेतावनी पनि दिएका छन्। प्रदर्शनमा धनगढी उप–महनगरपालिकाका मेयर नृप ओड लगायत धनगढीवासीको सहभागिता रहेको थियो।

प्रदेश ७ को नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिले मंगलवारको प्रदेश सभा बैठकमा नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्न सुझाव सहितको प्रतिवेदन पेश गरेको थियो।

डोटी पनि अान्दाेलित
प्रदेश ७ को राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव पेश गर्न गठित संसदीय समितिले गोदावरी राजधानी सिफारिस गरेपछि धनगढीमा सुरु भएको आन्दोलनले डोटीलाई पनि छोएको छ।

प्रदेशका जनताको भावना बिपरित एकलौटी तवरले राजधानी र नामांकन गरेको भन्दै बुधवार डोटीमा पनि बिरोधको कार्यक्रम भएको हो। डोटीका स्थानीयहरुले घर–घरमा कालो झण्डा टागेर विरोध जनाएका हुन्।

राजधानी र नामाकरणको विरोधमा डोटीमा चरणबद्ध आन्दोलनका कार्यक्रम गरिने आन्दोलनका अगुवा तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक वहादुर खड्काले जानकारी दिए। जस अनुसार बिहीबार विरोध -याली सहित जिल्ला प्रशासनमा कोण सभा गर्ने, पिपल्ला बजारमा विरोध प्रदर्शन सहित कोणसभा गर्ने र असोज १२ गतेदेखि अनिश्चितकालिन डोटी बन्द गरिने भएको छ।

यसअघिको क्षेत्रीय सदरमुकाम रहेको दीपायलमा राजधानी हुनुपर्ने माग राख्दै लामो समयदेखि आन्दोलन चलिरहेको छ भने डडेल्धुरामा पनि राजधानी हुनुपर्ने स्थानीयले माग गर्दै आएका छन्। अहिले प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा रहेको छ।

-नेपालखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार