नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडाैं – सर्वोच्च अदालतले पाँचौ  पटक नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई बिनासर्त रिहा गर्न आदेश गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्दा र टंकबहादुर मोक्तानको इजलासले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो ।

हालसम्म प्रकाण्डलाई काठमाडौं, काभ्रे, नुवाकोट, भोजपुर र दाङमा विभिन्न अभियोगमा म्याद थप गर्दै थुनामा राख्दै आइरहेको छ । म्यादी प्रहरीको ज्यान मारेको अभियोगदेखि क्रसर उद्योगमा आगजनी गरेको र चन्दा असुली गर्दै लुटपाट मच्चाएको सम्मको आरोप उनीमाथि प्रहरीले लगाउँदै आएको छ । पछिल्लो पटक सर्वाेच्चले भदौ १८ गते रिहा गर्न आदेश गरेको थियो ।

सर्वोच्च आदेश लगत्तै उनी छुटे पनि सर्वोच्च परिसरवाटै उनी पक्राउ पर्दै आएका छन् । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले अदालतको आदेश कार्यान्वयन गर्ने दायित्व भएको निकायबाट बारम्बार आदेशलाई सम्मान गरेको भन्दै नुवाकोट जिल्ला अदालतकै रोहबरमा छाड्न भनेको थियो । उक्त आदेशको पालना गर्दै रिहा गरेपनि पक्राउ गरेर भोजपुर लगिएको थियो । सर्वाेच्चले यसरी छाडेको जानकारी सर्वोच्चलाई गराउन समेत भनेको थियो। सर्वोच्चलाई जानकारी गराउने छोडेको प्रहरीले पुन पक्राउ गरेपछि प्रकाण्डका तर्फवाट ३१ गते पुन: बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो ।

सर्वोच्चले मुद्दाको अनुसन्धान गरी पर्याप्त आधार र कारण तथा प्रमाण भए कानुन बमोजिम मुद्दा चलाउन कानुनले रोक नलगाएको भन्दै उनलाई रिहा गर्न भनेको छ अर्को मुद्दामा नेकपाकी केन्द्रीय सदस्य उमा भुजेललाई पनि रिहा गर्न आदेश गरेको छ । भदौ १ गते सर्वाेच्च अदालत परिसरबाट दोस्रोपटक उनलाई गिरफ्तार गरिएको थियो । काभ्रे सदरमुकामस्थित क्रसरमा आगजनी गरेको अभियोगमा धुलिखेल प्रहरीले उनलाई पुनः हिरासतमा लिएको थियो ।

गत महिना नुवाकोटको बेलकोटगढीमा एक्स्काभेटर आगजनी गरेको आरोपमा उनलाई फरार प्रतिवादी बनाई प्रहरीले मुद्दा दायर गरेको थियो । सोही मुद्दामा अदालत उपस्थित गराइएको दाबी जिल्ला प्रहरी कार्यालय नुवाकोटले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार