सांसदहरुको प्रश्न- काम नगर्ने पप्पुलाई किन दिइन्छ पटकपटक ठेक्का?

काठमाडौं – कम रकममा टेन्डर हाल्ने र योजना प्राप्त गरे पनि निर्माणका काम अलपत्र पार्ने पप्पु कन्सट्रक्सनलाई किन कारबाही नगरी बचाऊ गरियो भन्दै सांसदहरुले प्रश्न उठाएका छन् । संसदको विकास र अर्थ समितिमा बोल्ने सत्ता पक्ष र स्वतन्त्र सांसदहरुले पप्पु कन्ट्रक्सनलाई कारबाहीको माग गरेका हुन् ।

नेकपाका सांसदद्वय रामकुमारी झाँक्री र यज्ञराज सुनुवार तथा स्वतन्त्र सांसद दुर्गा पौडेलले समितिमा यस्तो माग गर्नुभयो । प्रतिनिधिसभाकी सांसद दुर्गा पौडेलले विकास समितिको बैठकमा ठेकदारहरु किन विकास समितिमा बसे र राखियो भन्दै जवाफ माग गर्नुभयो । सांसद पौडेलले राष्ट्र बैंकको भवन बनाउने ठेक्का पनि पप्पुलाई दिनुको कारण समितिलाई जानकारी गराउन माग गर्नुभयो ।

पप्पु कन्ट्रक्सनका हरिनारायण रौनियार, तथा अन्य निर्माण कम्पनीका जिपछिरिङ लामा र बहादुरसिंह लामा प्रतिनिधिसभा अन्तर्गत विकास समितिमै रहेकोप्रति उहाँले प्रश्न उठाउनुभयो । यस्तै, सांसद रामकुमारी झाँक्रीले पनि अर्थ समितिमा पप्पु कन्ट्रक्सनलाई नै यति धेरै टेन्डर पर्नु र पारिनुको कारण माग गर्नुभएको छ ।

समितिले राष्ट्रिय गौरवका आयोजनमा भ्रष्टाचार भएको गुनासो भएको र सुस्त गतिमा निर्माण कार्य हुनुको कारण र विवरण सरकारसँग माग्न निर्देशन दिएको छ । उता, जिल्ला प्रहरी कार्यालय रौतहटले पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार