राज्य व्यवस्था तथा सुशासन समितिले बोलायो गृहमन्त्रीलाई

काठमाडौं – राज्य व्यवस्था तथा सुशासन समितिले मुलुकमा भइरहेका महिला हिंसा, बलात्कार हत्याका घटनाबारे जानकारी लिन गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुख अधिकारीहरूलाई समितिमा बोलाउने निर्णय गरेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार संसद सचिवालयमा समिति सभापति शशी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले समिति सदस्यहरूको सुझावका आधारमा गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र अन्य सम्बद्ध अधिकारीलाई बोलाउने निर्णय गरेको हो । उनीहरूलाई भोलि बुधबार दिउँसो १२ बजे बोलाइएको छ ।

समितिले यसअघिको बैठकमा गृहमन्त्रालयलाई नाबालिकदेखि बृद्ध महिलामाथि सम्म हुने गरेका बलात्कार र हत्या जस्ता मानवता विरोधी जघन्य अपराध र त्यस्ता अपराधिक घटनाका वास्तविक अपराधिहरू पत्ता लगाई अपराधिलाई कडा कानूनी कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराएको थियो । समितिले सबै प्रकारका अमानवीय घटनाका कारण पहिचान गरी त्यस्ता घटनालाई निर्मूल गर्नका साथै मुलुकको शान्ति सुव्यवस्था र अमन चयन कायम राख्न थप प्रभावकारी रूपले कार्य गर्न, गराउन गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार