निर्मला हत्या प्रकरण : अनुसन्धानमा खटिएका प्रहरीको पोलिग्राफ टेस्ट

काठमाडाैं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको पोलिग्राफ (झुट बोलेको पत्ता लगाउने प्रविधि) परिक्षण गरिएको छ । डिआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिले घटनाको अनुन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरेको हो ।

निर्मला हत्याको घटनास्थलमा खटिएर अनुसन्धान गर्ने  तथा निर्मलाले लगाएको कपडा पखाल्ने प्रहरी कर्मचारीको पोलिग्राफ परीक्षण गर्ने काम भइरहेको छ । उच्च स्रोतका अनुसार फिल्डमा खटिएका प्रहरीको परीक्षण सकिएको छ भने तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलगायतको पनि पोलिग्राफ परीक्षण हुँदैछ । घटनाको अनुसन्धानमा खटिएका प्रहरीबारे अन्य अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता एसएसपी शैलस थापा क्षेत्रीले जानकारी दिनुभयाे ।

सुरूमा यो घटनाको अनुसन्धान गर्न एसएसपी उत्तम सुवेदीको नेतृत्वमा ५ सदस्यीय समिति बनेको थियो । प्रहरीले मुख्य अभियु भनी दाबी गरेका दिलिपसिंह बिष्टको डिएनए रिपोर्टपछि प्रहरी प्रधान कार्यालयले समितिको आकार ठूलो बनाएर एआइजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो । गृहमन्त्रालयले घटनाको अनुसन्धान गर्न साउन १४ गते गएको सिआइबीको टोलीका तीनसहित पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेको थियो ।

सरकारले अनुसन्धान विवादस्पद बन्दै गएपछि भदौ ७ मा छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो । सोही समितिको प्रतिवेदनका आधारमा गृहले निर्मला बलात्कार-हत्याको अनुसन्धान जिम्मेवारपूर्वक गर्न नसकेका डिएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, इन्स्पेक्टर, जगदीश भट्ट, एकेन्द्र खड्का र सई रामसिंह धामीलाई निलम्बन गरेको हो ।

यसअघिनै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट निलम्बनमा परिसकेका थिए । घटनाका बारेमा अनुसन्धान गर्न उनी लगाएत ३ जनाको डिएनए संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार