न्यायको खोजीमा अन्तर्राष्ट्रिय अदालत जाने गंगामायाको चेतावनी

काठमाडौं – गोरखा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिनुभएको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसनरत गंगामायाले नेपाल सरकार र अदालतबाट न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिनुभएको हो ।

छोराको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै ३ वर्षअघि आमरण अनसनकै क्रममा ज्यान गुमाएका पति नन्दप्रसाद अधिकारीको चौथो स्मृति दिवसको अवसर पारेर आज वीर अस्पतालको मुलगेटमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशले आफूलाई न्याय नदिए पनि अन्तर्राष्ट्रिय अदालतले न्याय दिने विश्वास पनि व्यक्त गर्नुभयो ।  द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही गर्न यसबीच सरकारसँग आग्रह गरे पनि आफूहरुलाई न्याय नदिएको गंगामायाले गुनासो गर्नुभयो ।

गंगामाया अधिकारीले आफ्नो छोरालाई माओवादीले र पतिलाई सरकारले मारेको उल्लेख गर्दै ठूला अपराधीलाई अन्तर्राष्ट्रिय अदालतले समात्ने विश्वास गर्नुभएको भएको छ । आमरण अनसनका कारण शिथिल बन्नुभएकी गंगामायाले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई किन पक्राउ गर्न नसकेको? भनी सरकारलाई प्रश्न गर्नुभयो ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका छविराज पौडेललाई अदालतले रिहा गर्ने आदेश दिएपछि गंगामायाले नेपालबाट आफूले न्याय पाउने आशा मरेको बताउनुभयो । सरकार र अदालतले न्याय नदिएकै कारण पति नन्दप्रसादले ज्यान गुमाउनु परेको पनि उहाँले स्मरण गराउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार