सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, यातायात सुचारु

काठमाडाैं – सरकार र आन्दोनमा उत्रिएका सवारी चालकहरुबीच ८ बुँदे सहमति भएको छ । गत १ भदौबाट लागू भएको मुलुकी अपराध संहितामा रहेको ‘ज्यान मार्ने मनसाय लिई दुर्घटना गराए जन्मकैद हुने’ प्रावधानको विरोध गर्दै चालकहरु आन्दोलनमा उत्रिएका थिए ।

प्रधानमन्त्री कार्यालयका सचिब केदारबहादुर अधिकारीका अनुसार सवारी चालकहरुको माग अनुसार कानून संसोधन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्ने सहमति भएपछि चालकहरुले आन्दोलन फिर्ता लिएका छन् । अधिकारीले भन्नुभयाे, “उहाँहरुले उठाउनु भएका अन्य माग भौतिक योजना तथा यातायात मन्त्रालयले सम्बोधन गर्ने सहमति भएको छ । आजैबाट आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता भएकाले इन्धन ट्यांकर लगायत सबै सवारीसाधन सञ्चालन हुन्छन् ।”

सहमति अनुसार नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिलामा पठाउने भनिएको छ । दोस्रो बुँदामा ट्राफिक संकेत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राष्ट्रिय राजमार्गमा निश्चित दुरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्ने उल्लेख छ । सडक दुर्घटना हुँदा निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जोसुकैलाई कारवाही गर्ने सुनिश्चित गर्ने, सवारी चालकलाई समय समयमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेबारे सरकारले सहमति जनाएको छ ।

ट्राफिक प्रहरीको व्यवहार परिवर्तनका लागि गृहले आवश्यक व्यवस्था मिलाउने, आन्दोलनका क्रममा गिरफ्तारीमा परेका सवारी चालकलाई आजै रिहा गर्ने लगायतका सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिहंदरबारमा ३ घण्टासम्म चलेको वार्तामा सरकारका तर्फबाट गृह सचिब, कानून सचिब, भौतिक योजना तथा यातायात मन्त्रालयका सचिब लगायतको सहभागिता थियो । स्वतन्त्र सवारी चालक संघर्षको नामबाट गरिएको आन्दोलनले काठमाडौं लगायत देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि सरकारले वार्ताको पहल गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार