नेपालमा डायको प्रभाव, भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं – बंगालको खाडीबाट सुरू भएको सामुद्रीक आँधी ‘डाय’को प्रभाव नेपालमा पनि परेको छ । हिजो सुरू भएको सो आँधी अहिले पश्चिमतिर बढिरहेको छ । प्रभावस्वरूप भारतका विभिन्न राज्यमा भारी वर्षा र हावाहुरी भइरहेको जनाइएको छ ।

त्यसको प्रभाव नेपालमा पनि परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार डायको प्रभावका कारण नेपालमा मौसममा बदली भइ हल्कादेखि भारी वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । ‘बिहीबार रातिदेखि डायको प्रभाव परेको छ, उत्तरपश्चिमतिर सर्ने क्रम जारी छ,’ मौसमविद् कँडेलले भन्नुभयो, ‘पश्चिमी भेगमा भारी वर्षा हुनसक्छ, भने हिमाली क्षेत्रमा हिमपात ।’ ‘हिमपातको सम्भावना रहेपनि आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको उहाँको भनाई छ ।

यसैबीच बाढीपूर्वानुमान शाखाले हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले सजगता अपनाउनु आग्रह गरेको छ । बुलेटिन जारी गर्दै बाढीपूर्वानुमान शाखाले शुक्रबार नारायणी जलाधारको पहाडी क्षेत्रमा केही स्थानमा ठूलो वर्षा हुन सक्ने सम्भावनाा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । यस्तै शनिबार पश्चिम तराईको कैलाली, कञ्चनपुरका ससाना खोलानालामा बाढी आउने र आइतबार देशका अधिकांश नदीनालामा सामान्य बहाव बढ्ने सम्भावाना रहेको शाखाले पूर्वानुमान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार