महोत्तरीमा १४ वर्षीया बालिकाको बलात्कार र हत्या रहस्यमै

काठमाडाैं- महोत्तरीको सोनमा गाउँपालिका– ८ सिंग्हासिनीकी १४ वर्षीया कविताकुमारी यादवको बलात्कार र हत्या भएको २३ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन। प्रहरीले पक्राउ गरेर मुद्दा चलाएका पाँचैजनालाई जिल्ला अदालतले सफाइ दिएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा महोत्तरीबाट रञ्जन भण्डारीले लेखेका छन्।

सिंग्हासिनीका रामएकवाल यादवकी १४ वर्षीया छोरी कविता १२ भदौदेखि हराएकी थिइन् । उनको शव १४ भदौमा गाउँकै रामजानकी कुटीस्थित इनारमा भेटिएको थियो । सो दिन नै प्रहरीले सो ठाउँका रामजीवन राउत कुर्मीलाई पक्राउ गरेको थियो । स्थानीयले कवितालाई उनी हराएकै दिन रामजीवनसँग उखुबारीमा देखेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । कविताका बाबु रामएकवालले रामजीवनले नै हत्या गरेको किटानी जाहेरीसमेत दिएका थिए ।

रामजीवन पुर्पक्षका लागि थुनामा थिए । पक्राउ परेका अन्य चारजनालाई भने प्रहरीले प्रत्येकसँग एक लाख धरौटी लिएर छाडेको थियो । तर, पाँचै अभियुक्तले सफाइ पाएका जिल्ला अदालतका निमित्त स्रेस्तेदार महेन्द्र झाले बताए । कविताको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले अदालतमा पनि अपहरण, बलात्कार र हत्याको मुद्दा चलाएको थियो । अभियुक्तहरूले सफाइ पाएपछि पीडित परिवारले भने असन्तुष्टि जनाएका छन् । बाबु रामएकवालले आफूहरूले न्यायको अनुभूति गर्न नपाएको बताए । उनले भने, ‘प्रहरी र अदालत दुवैले हामीलाई भरोसा हुने गरी न्याय दिनुपर्छ, हत्यारालाई कारबाही हुनुपर्छ।’

सबै अभियुक्तले पाए सफाइ
प्रहरीले हत्या अभियोगमा पाँचजनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । मुद्दा चलाइएका रामजीवन राउत कुर्मी, गौरीशंकर राउत कुर्मी, दशरथ राउत कुर्मी, राम श्रेष्ठ महतो र नवीनकुमार महतोले सफाइ पाएका हुन् । रामजीवन, गौरीशंकर र दशरथ दाजुभाइ हुन् भने राम र नवीन बाबुछोरा हुन् । प्रहरीले रामजीवनलाई शव भेटिएकै दिन नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार