फेरि २० वर्षे पुराना गाडी चलाउन चलखेल

काठमाडाैं – मुलुकभर सबभन्दा बढी पुराना गाडी उपत्यकामा गुड्छन्। ट्राफिक प्रहरीका अनुसार उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा पुराना गाडी ललितपुरमा चल्छन्। विशेष गरेर शौक्षिक संस्था, सरकारी कार्यालय र अस्पतालका बस पुराना छन्।

थोत्रा गाडीबाट निस्कने कार्बन मोनोअक्साइडको मात्रा बढी भएर वातावरण प्रदूषण भई बिरामीको संख्या वृद्धि भएको वातावरणविद् तथा चिकित्सकको प्रतिवेदन छ। पार्टपुर्जा कमजोर र यात्रुको चाप हुँदा बढी दुर्घटना र अपांग, अशक्त र महिला सिटको दुरुपयोग भएको सरकारी तथ्यांक छ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रशान्त मालीले लेखेका छन्।

४ वर्षअघि सरकारले मुलुकबाट २० वर्षे पुराना गाडी हटाउने निर्णय गर्‍यो । यातायात व्यवस्था विभागले २०७३ चैतदेखि उपत्यकामा २० वर्ष पुराना गाडी चल्नमा रोक लगायो। यसले लगनखेल–चापागाउँ र धापाखेल रुटमा चल्ने २० देखि ५१ वर्षसम्मका पुराना बस विस्थापित पनि भए । तर, अहिले विभागले व्यवसायीको दबाबमा २०७१ भदौ २६ मा मन्त्रिपरिषद् बैठकले २ वर्षभित्र २० वर्ष पुराना गाडी हटाउने गरेको निर्णयलाई कार्यान्वयनको सट्टा उल्टो ५ वर्ष म्याद थप गर्न मन्त्रालयमा प्रस्ताव गरेको छ।

यातायात अभियन्ता रामबहादुर थापा भन्छन्, ‘पुराना गाडी बिस्तारै हट्दै थिए । अहिले आएर विभागले प्रभावमा परेर जनताको पक्षमा भन्दा व्यवसायीको पक्षमा निर्णय लिएको छ।’ उनले तत्काल प्रस्ताव फिर्ता लिन माग गरेका छन् ।’ ‘पुरानो गाडीको हेडलाइट बेलुका मधुरो बल्छ । र कार्बोरेटर, क्लजप्लेट, गियरबक्स र इन्जिन कमजोर भएका पुराना गाडीले बढी यात्रु बोक्नाले दुर्घटना हुने गरेको छ,’ उनले भने।

वैशाखबाट सवारी सधानको धूवाँ परीक्षण गरेर हरियो स्टिकर अनिवार्य गर्ने योजना पनि अलपत्रमा परेको छ । यसले उपत्यकामा खुलेआम अत्याधिक कालो धूवाँ फाल्ने गाडीहरू गुडिरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार