५० वर्षीयको प्रेम प्रस्ताव अस्वीकार गर्दा १८ वर्षीया किशोरीमाथि तेजाब आक्रमण

काठमाडाैं – सुतिरहेको अबस्थामा रौतहटका दुई किशोरीलाई तेजाब छ्यापेर घाइते बनाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

चन्द्रपुर ६ का ५० वर्षीय रामबाबु पासवानलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। पासवानले घाइते मध्येकी सम्झनाकुमारी दासलाई एकतर्फी प्रेम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रौतहटबाट फणि महतले लेखेका छन्।

मोबाइलको कल डिटेल, पीडित किशोरीका बाबुको किटानी जाहेरी र किशोरीको बयानका आधारमा पासवानलाई प्रहरीले पक्राउ गरेको हो। आरोपीको मोवाईलबाट सम्झनाको मोवाइलमा १५ दिनमा एक सय ८० पटक फोन गरेको पाइएको एसपी केदार ढकालले बताए। एकै दिन रातको समयमा मात्रै दर्जनौंपटक किशोरीलाई फोन गर्नुको कारण एकतर्फी प्रेम हुनसक्ने प्रहरीको अनुमान छ।

सयौं पटक फोन गर्दा पनि किशोरीले फोन रिसिभ नगरेपछि आक्रोसमा आएर पासवानले तेजाब आक्रमण गरेको भन्दै प्रहरीले अनुसन्धान थालेको हो। पासवानकी ६५ वर्षीया वृद्धा श्रीमती छिन्। उनले चन्द्रपुर ६ की १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मिता दासलाई गएको २६ भदौमा राती १२ बजे सुतेकै ठाउँमा गएर अनुहारमा तेजाब प्रहार गरेका थिए। दुबै दिदी बहिनीको किर्तिपुरमा उपचार भइरहेको छ। दिदी सम्झनाको शरीर ३५ प्रतिशत भाग तेजाबले जलेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार