पानी छोएको निहुँमा वडाध्यक्षद्वारा दलित युवामाथि कुटपिट

काठकाडाैं – पानी छोएको निहुँमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारबाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।

सर्लाहीको विष्णु गाउँपालिका–२ का वडाध्यक्ष संजय साहमाथि कारबाहीको माग गर्दै मंगलबार संघर्ष समितिले प्रजिअ दोर्ण पोखरलेललाई ज्ञापन पत्र बुझाएको हो। सर्लाहीबाट लेखिएको यो खबर आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ। वडाध्यक्ष साहले गएको २७ साउनमा स्थानीय दलित युवा अजय रामलाई ‘दलित भएर पानी छुने’ भन्दै वडा कार्यालयमै कुटपिट गरेका थिए । घटनाको भोलिपल्ट पीडित युवाले दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा गएर लिखित उजुर गरे ।

तर घटना भएको एक महिनासम्म पनि प्रहरीले दोषीमाथि कुनै कारबाही नगरेपछि दलित संघर्ष समितिले घटनाप्रति चासो देखाएको हो । मंगलबार संघर्ष समितिको नेतृत्वमा डेलिगेशन गएर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको संघर्ष समितिका संयोजक राधेश्याम पासवानले बताए। पीडित अजय चार वर्षीय छोराको दलित पोषण भत्ता लिन वडा कार्यालयमा जाँदा दुव्र्यवहार भएको हो । ‘कार्यालय सहयोगी रामेश्वर चौधरीले वडाध्यक्षको टेवुलमा पानीको जग ल्याएर राखे,’ रामले भने, ‘म त्यहिँ थिएँ, तिर्खा लागेको थियो । जगको पानी उठाएर खान खोज्दा म माथि वडाध्यक्ष साहले ‘चमार भएर पानी छुँने’ भन्दै एक्कासी कुटपिट गरे । त्यसपछि घाँटीमा समाएर गलहत्याउँदै कार्यालयबाट बाहिर निकाले ।’

वडाध्यक्ष साह संघीय समाजवादी फोरमबाट निर्वाचित जनप्रतिनिधि हुन् । घटनाको विषयमा आफूले भोलीपल्टै प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेल र एसपी कोषराज पोखरेललाई जानकारी गराएपनि प्रहरी प्रशासनले वडाध्यक्ष साहमाथि कुनै कारबाही नगरेपछि बाध्य भएर दलित संघर्ष समितिलाई गुहार्नु परेको रामको भनाई छ।

अछूत भन्दै दुव्र्यवहार गर्ने वडाध्यक्षलाई प्रहरी प्रशासनले कारबाही गर्नेतर्फ कुनै चासो नदेखाएपछि पीडित रामले दलित संघर्ष समिति र नेकपाका नेतालाई गुहारेका छन् । मंगलबार दलित संघर्ष समितिका पदाधिकारीसँगै नेकपाका केन्द्रीय सदस्यद्वय अच्युतम काफ्ले र डाचाराज वाग्ले, नेता कमल वुढाथोकीसहितका नेता समेत जिल्ला प्रशासन कार्यालयमा गएपछि मात्र प्रजिअ पोखरेलले ज्ञापन पत्र बुझेका हुन्।

प्रजिअ पोखरेलले दोषीलाई कानुनअनुसार कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्दै ज्ञापन पत्र बुझेका संयोजक पासवानले बताए । ‘सार्वजनिक स्थलमा छुवाछूतको व्यवहार गर्दै दलित युवालाई कुटपिट गर्ने वडाध्यक्ष साहलाई कानुन अनुसार कारबाही नभए कडा संघर्षमा उत्रन बाध्य हुने छौँ,’ पासवानले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार