३८ सय किलो सुन तस्करी प्रकरण : एसपी खनाल पनि तारेखमा छुटे

काठमाडाैं – ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका  प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । अाज जिल्ला अदालत मोरङको आदेश उल्टाउदै उच्च अदालत विराटनगरले यस्तो आदेश दिएको हो ।

न्यायाधीशद्धय नागेन्द्र लाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो । यसअघि गत शुक्रबार मात्र एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो । अदालतले आइतबार अर्का अभियुक्त डिएसपी प्रजित केसीलाई रिहा गर्न आदेश दिएको थियो । जिल्ला अदालत मोरङको आदेशलाई चुनौती दिँदै उच्च अदालत विराटनगरमा २७ जनाले निवेदन दिएका थिए । उनीहरुमध्ये तीन जनाको निवेदनमात्र सुनुवाई भएको छ ।

अन्य २३ निवेदन सुनुवाई हुने क्रममा छन् । जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा रहेका त्रुटिपूर्ण आदेश बदर भई साधारण तारेखमा रिहा हुनुपर्ने माग गर्दै उच्च अदालतमा १७ नम्बरको निवेदन दायर गरेका थिए । तल्लो अदालतको फैसला चित्त नवुझेमा माथिल्लो अदालतमा निवेदन दायर गर्न पाउने व्यवस्था १७ नम्बर निवेदन हो ।

जिल्ला अदालतले सबै अभियुक्तलाई थुनामै पठाएपछि उनीहरु उच्च अदालत पुगेका थिए । असार ५ गतेदेखि अभियुक्तहरुले उच्च अदालतमा निवेदन दायर गरेका थिए । यसरी निवेदन दर्ता गर्नेमा एसएसपी लोहनी, पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत र भुजुङ गुरुङ थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार