प्योङयाङमा दुई कोरियाली राष्ट्रपतिबीच अंकमाल

काठमाडाैं – दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन तीन दिने भ्रमणका क्रममा उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन्। उत्तर कोरिया र अमेरिकाबीच सुरू भएको आणविक नि:शस्त्रीकरण वार्ता समस्यामा परेपछि सुचारु गराउने प्रयास स्वरूप मुन प्योङयाङ पुगेका हुन्।

उनी विशेष विमानमार्फत् सोमबार बिहान प्योङयाङ उत्रिएका हुन्। मुनलाई स्वागत गर्न उत्तर कोरियाली नेता किम जोम उन विमानस्थल पुगेका थिए। उत्तर कोरियाली सेनाको स्वागत धुनबीच किम विमानस्थलमा बिछ्याइएको रातो कार्पेटबाट मुन चढेको जहाजतर्फ स्वागत गर्न अगाडि बढेका थिए। जहाजबाट मुन उत्रिएपछि दुई कोरियाली राष्ट्रपतिले हात मिलाए। त्यसपछि अंकमाल गरे। सँगै गएका दक्षिण कोरियाली र उत्तर कोरियाली राष्ट्रपतिका श्रीमतीले भने हात मात्र मिलाएर एकअर्कालाई अभिवादन गरे।

उत्तर कोरिया भ्रमणमा जाने मुन तेश्रो दक्षिण कोरायाली राष्ट्रपति हुन्। किम भने पाँच महिनाअघि दक्षिण कोरिया गएका थिए। पाँच महिनाअघि दुई राष्ट्रपतिबीच दक्षिण कोरियामा भएको भेटवार्तापछि उत्तर कोरियाली राष्ट्रपति किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मबीच गत जुनमा सिङ्गापुरमा भेट भएको थियो। ट्रम्प र किमको भेटपछि अमेरिकी विदेश मन्त्री माइक पम्पेओ नि:शस्त्रीकरण वार्ता गर्न प्योङयाङ पुगेका थिए। त्यसपछि पनि अमेरिका र उत्तर कोरियाबीच सम्पर्क र वार्ता भएपनि कोरियन प्रायद्वीपलाई आणविक नि:शस्त्र बनाउने कामले गति लिन सकेको छैन।

अमेरिकी विदेशमन्त्री पम्पेओले वार्तामा ‘ग्याङस्टर’ जस्तो व्यवहार गरेको उत्तर कोरियाले आरोप लगाउँदै आएको छ। अमेरिकाले भने केही कुरामा छुट दिन नचाहेको तर उत्तर कोरियाले भने आफ्ना सबै आणविक कार्यक्रम त्याग्नु पर्ने माग अमेरिकाले राखेर विश्वासको वातावरण बिगारेको उत्तर कोरियाको आरोप छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार