संविधान दिवसको अवसरमा हनुमान ढोकामा लोकतन्त्र मेला हुँदै

काठमाडाैं – तेस्रो संविधान दिवसका अवसरमा हनुमान ढोका दरबारमा तीनदिने ‘लोकतन्त्र मेला’ आयोजना हुने भएको छ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा यही असोज ४ गतेदेखि ६ गतेसम्म विश्वसम्पदा सूचीको ऐतिहासिक हनुमान ढोका दरबारको नासल चोकमा मेला आयोजना गरिने भएकाे हाे । ‘समावेशी लोकतन्त्र: समृद्ध नेपाल’ भन्ने मूल नारासाथ पहिलो पटक हुने सो मेलाले बहुदलीय संस्कृतिको विकास र समावेशी लोकतन्त्रलाई थप प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।

मेलालाई सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका चारै दलले सहकार्य गरेका छन् । मेलामा डेनमार्क, बेलायत, केन्या, भारत, पाकिस्तानलगायतका देशका सांसदले भाग लिने छन् ।  मेलाबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले मेलामा राजनीतिक दलहरुका प्रदर्शनी, संविधान विशेष कक्ष, विविध संस्कृतिका कला तथा खाद्य प्रदर्शनीसमेत रहने जानकारी दिनुभयाे । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संयुक्तरुपमा मेलाको उद्घाटन गर्नुहुनेछ ।

मेलाका अवसरमा समावेशी लोकतन्त्र: राजनीतिमा महिला नेतृत्व, २१ औँ शताब्दीमा लोकतन्त्र, उत्कृष्ट संसदीय अभ्यास तथा कानून निर्माण प्रक्रिया, २१ औँ शताब्दीमा सङ्घीय लोकतन्त्र तथा शक्ति विकेन्द्रीकरण विषयमा शीर्ष नेतृत्वले सम्बोधनसमेत गर्नहुने छ । पत्रकार सम्मेलनमा सभापति गुरुङले संविधानका विशेषतालाई जनताका माझ पु्‍र्‍याउन मेलाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

मेलाको दोस्रो दिन ५ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग खुला अन्तरिक्रिया हुने आयोजकले जनाएको छ । प्रचण्डसँग ‘समावेशी लोकतन्त्र: राजनीतिमा महिला नेतृत्व’ र देउवासँग ‘२१औं शताब्दीमा लोकतन्त्र’ भन्ने विषयमा छलफल हुनेछ  ।

त्यस्तै असोज ६ गते पनि दुईवटा विषयमा राजपाका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग अन्तरक्रिया हुनेछ । ठाकुरसँग उत्कृष्ट संसदीय अभ्यासहरु तथा कानुन निर्माण प्रक्रिया र यादवसँग २१औं शताब्दीमा संघीय लोकतान्त्रिक तथा शक्ति विकेन्द्रीकरण विषयमा अन्तरक्रिया गरिने सभापति गुरुङले जानकारी दिनुभधयाे ।

मुख्य कार्यक्रम नासल चोकमा भए पनि विभिन्न विषयका प्रर्दशनी स्टल भने बसन्तपुर डबली राखिने छन् । कार्यक्रममा लोकतन्त्र सम्बन्धी स्टलहरु, महिला उद्यमी स्टल, किताब फोटो, हस्तकला प्रदर्शनी स्टल राखिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार