छानविन समितिका सदस्य भन्छन्- डिएनए परीक्षणले मात्र निर्मलाका हत्यारा पत्ता लाग्न मुस्किल

काठमाडाैं – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या घटनाको छानबिन गरिसकेको उच्चस्तरीय छानबिन समिति पनि निर्मलाको हत्या कसले गरेको भनेर निष्कर्षमा पुग्न सकेको छैन।

अपराध अनुसन्धानका बारेमा जानेको व्यक्तिले चलाखीपूर्ण ढंगले निर्मलाको हत्या गरेर प्रमाण नष्ट गरेको निक्र्योल छानबिन समितिको छ। यो खबर आजको नागरिक दैनिकमा कञ्चनपुरबाट दिलबहादुर छत्याल र पुष्पराज जोशीले लेखेका छन्।

‘हत्या गर्ने मान्छेले प्रमाण नष्ट पार्न खोजेको छ, बाँकी रहेका प्रमाण प्रहरीले नष्ट गरेको छ’, उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले भने, ‘प्रहरीले दोषी बचाउन नियतवश प्रमाण नष्ट गरेको हो कि भुलवश भन्नेमा हामी निष्कर्षमा पुग्न सकेका छैनौं।’ अब बनेको अनुसन्धान समितिले त्यो कुरा पत्ता लगाउने उनको भनाइ छ।

घटनास्थलमा फिंगर प्रिन्ट, फुट प्रिन्ट, रौं, रगत र विर्यलगायतको कुनै पनि प्रमाण संकलन भएको छैन। प्रहरीले नियतवश सबै प्रमाण नष्ट गरेको भएमा भेजिनल स्वाबको नमुना पनि विश्वसनीय नहुनेमा छानबिन समितिभित्रै सदस्यले आवाज उठाएका छन्।

‘त्यति बेलाकाधानमा खटिएको प्रहरी टोलीले सबै प्रमाण नष्ट गरेकाले डिएनएका लागि संकलन गरिएको भनिएको भेजिनल स्वाबको नमुनामा विश्वास गर्ने ठाउँ छैन’, एक सदस्यले भने, ‘त्यो नमुना कसरी र कहाँबाट ल्याइयो भन्ने थाहा छैन।’

छ इन्च पानी जमेको ठाउँमा घोप्टो पारेर शव फालिएको थियो । ‘त्यो शवको भेजिनामा पानी पसेर स्पर्म पखालिएन भनेर कसरी विश्वास गर्ने’,उनले भने। धेरै कुरा जेलिएकाले निर्मलाको हत्या शक्तिशाली व्यक्तिले गरेर योजनाबद्ध ढंगले सबै प्रमाण नष्ट गरेको उनले बताए।

केही दिनअघि छानबिन समितिबाट राजीनामा दिएका वीरेन्द्र केसीले पनि डिएनए परीक्षण नमुना संकलनको विश्वसनीयतामाथि प्रश्न उठाएका थिए। ‘डिनए परीक्षणका लागि कसरी नमुना संकलन गरियो भन्ने कुरा नै विश्वसनीय छैन’, उनले त्यति बेला भनेका थिए।

छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ। प्रतिवेदनमा आफूले भनेको कुरा समेट्ने सर्तमा राजीनामा फिर्ता लिएको उनले बताएका थिए। केसी स्वास्थ्यको प्राविधिक क्षेत्रमा काम गरेका अनुभवी व्यक्ति हुन्।

विज्ञहरु पनि पानीमा घोप्टो पारी राखिएको अवस्थामा स्पर्म पखालिने सम्भावना बढी हुने बताउँछन्। ‘पानीमा घोप्टो राखेको अवस्थामा भेजिनामा पानी पसेमा स्पर्म पखालिन्छ’, स्त्रीरोग विशेषज्ञ गणेश सिंह भन्छन्, ‘२४ घण्टापछि लिएको भेजिनल स्वाबमा पनि शुक्रकीट मरिसकेको हुन्छ।’

पाठेघरको मुखमा वा भेजिनामा रहेको तरल पदार्थलाई भेजिनल स्वाब भनिन्छ। पानीले नपखालेमा यौन सम्पर्क गर्ने व्यक्तिको स्पर्म त्यसमा भेटिने उनी बताउँछन्। २४ घण्टा ढिलो पोस्टमार्टम गर्दा पनि त्यो नष्ट हुने सम्भावना रहने उनी बताउँछन्।

प्रहरीले साउन ११ गते साँझ करिब ६ बजेतिर निर्मलाको शव पोस्टमार्टम गरेको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए। उच्चस्तरीय छानबिन समितिका एक सदस्यले प्रहरीले भुलवश नभई नियतवश नै सबै प्रमाण नष्ट गरेको बताएका छन्। ‘डिएनए परीक्षणले मात्र दोषी पत्ता लाग्ने सम्भावना कम छ’, उनले भने।

घटनास्थलबाट करिब २ किलोमिटर दूरीमा नेपाली सेनाको ब्यारेक छ। छानबिन समितिका एक सदस्यले सेनामाथि पनि अनुसन्धान गरिनुपर्ने सुझाव दिइएको बताएका छन्।

समितिका संयोजक मैनाली भने सेनामाथि तोकेर भन्दा पनि फराकिलो दायरामा अनुसन्धान गर्नुपर्ने भनेर प्रतिवेदनमा सुझाव दिइएको बताउँछन्। ‘सबै सम्भावनालाई ध्यान दिई फराकिलो दायरामा अनुसन्धान गरिनुपर्छ भनेका छौं’, उनले भने।

तालिमप्राप्त व्यक्तिबाट हत्या
निर्मलाको हत्या तालिमप्राप्त व्यक्तिबाट भएको खुलेको छ। पोस्टमार्टम रिपोर्टले देखाएअनुसार निर्मलाको घाँटी कर्ड न्याकेर हत्या गरिएको देखिएको हो।

घाँटीको कर्ड न्याक्ने कुरा तालिम प्राप्त व्यक्तिबाहेक अन्यले गर्न नसक्ने एक प्रहरी अधिकारी बताउँछन्।

‘युद्ध मैदान होस् या दुस्मनको घेरामा पर्दा, आफू बच्नका लागि दुस्मनको घाँटी थिचेर उसको कर्ड न्याकी मार्ने युद्धकला तालिमप्राप्त व्यक्तिलाई मात्रै सिकाइएको हुन्छ,’ ती अधिकारीले भने, ‘यो घटनाको प्रकृति हेर्दा तालिमप्राप्त व्यक्तिबाटै हत्या भएको जस्तो देखिन्छ।’

घाँटीको कर्ड न्याक्नु सहज नहुने उनको तर्क छ। ‘तालिममा सिकेको व्यक्तिले नै हो घाँटीको कर्ड न्याक्न सक्ने,’ उनले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार