१० दिन नवित्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडाैं – दश दिन नवित्दै सरकारले इन्धनको मूल्य फेरि बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएपछि नेपाली बजारमा इन्धनको मूल्य बृद्धि गर्नु परेको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशन शुशील भट्टराईले बताए।

निगमले सोमबार रातीदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मटीतेलको मूल्य ३–३ रुपैयाँ वढाएको हो। मूल्य वढेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ र डिजल तथा मटीतेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ। ग्याँस र हवाई इन्धनको मूल्य भने वढाइएको छैन।

स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्यमा समायोजन गरिएको आयल निगमले जनाएको छ। समायोजित मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा बृद्धि भएको हो। निगमले १० दिन अघि २० भदौमा मात्रै इन्धनको मूल्यमा भारी बृद्धि गरेको थियो।

आइतबार भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको मूल्य अनुसार १ अर्ब ३ करोड मूल्य घाटा हुने देखिएकाले इन्धनको मुल्य बृद्धि गरिएको दावी भट्टराईले गरे।

पुरानो मूल्य अनुसार आयल निगमलार्इ पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजेलमा ५ रुपैयाँ १२ पैसा नोक्सान हुने उनको भनाइ छ। भट्टराईका अनुसार मूल्य वढाएपछि पनि निगमलाई मासिक नोक्सान ५० करोड भन्दा धेरै छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार