देशव्यापी दबाबपछि विवादास्पद प्रहरीको पोलिग्राफ टेस्ट गर्ने तयारी

काठमाडाैं – निर्मला प्रकरणमा विवादास्पद प्रहरीहरुमाथि पोलिग्राफ टेष्ट हुने भएको छ । प्रहरी प्रधान कार्यालयले निलम्वित एसपी डिल्लिराज विष्टसहित ६ जना प्रहरीको पोलिग्राफ लिने निर्णयमा पुगेको हो ।

हिजाेमात्र घटनाको छानविन गर्न डिआइजीको नेतृत्वमा नयाँ छानविन समिति गठन गरेको थियो । अनुसन्धानका लागि डिआइजी धिरु बस्नेतको नेतृत्वमा समिति बनाइएको हो । प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले आवश्यकताअनुसार पोलिग्राफ टेस्ट लिइने तयारीमा रहेको जानकारी दिनुभयाे । ‘छानविन समितिले छानविन गरिरहेको छ, आवश्यकताअनुसार टेस्ट हुन्छ ।’ – उहाँले भन्नुभयाे ।

जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको अनुसन्धानमा शङ्का पैदा भएपछि गृह मन्त्रालयले नयाँ एसपी पठाएर अनुसन्धान सुरु गर्न निर्देशन दिएको थियो । एसपी विष्टको अनुसन्धानमा कमजोरी देखिएकाले उनलाई भदौ ९ गते निलम्बित गरिएको थियो । एसपी विष्टको डिएनए परीक्षण समेत गरिएको छ । तर, अहिलेसम्म डिएनए रिपोर्ट सार्वजनिक गरिएको छैन ।

शनिवार काठमाडौंसहित देशव्यापी रुपमा निर्मलालाई न्याय माग्दै प्रदर्शन भएपछि दवावमा आएको गृह मन्त्रालयले दुई डिएसपी सहित पाँच जनालाई त्यसै दिन निलम्बन गरेको छ । निलम्बनमा पर्नेहरुमा डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन् । समितिले घटनामा संलग्न सबै प्रहरीको अनुसन्धान गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार