ओलीले भनेजस्तो किन बनेनन् नेकपाका कार्यकर्ता अरिंगाल ? नेता घनश्याम भुसालको यस्तो छ तर्क

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टी कार्यालयमा शनिबार सरकारमाथि आलोचनाको प्रतिवाद नगरेकामा नेता–कार्यकर्तासँग असन्तुष्टि जनाए । ‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ तर हामीसँग अरिंगालको जति पनि बुद्धि छ कि छैन रु,’ उनको भनाइ थियो, ‘त्यो हामीले हेर्नुपर्ने भएको छ । एउटा अरिंगाललाई मार्‍यो भने ठीकै छ भन्ने कि एकजुट भएर प्रतिवाद गर्ने ?’

सरकारविरुद्ध चौतर्फी आक्रमण भइरहँदा पनि नेता–कार्यकर्ता चुप बसेको भन्दै ओलीले आक्रोशमात्र पोखेनन्, पार्टी भित्रभित्रै खोक्रो पार्ने ‘धमिरा प्रवृत्ति’ देखिएको पनि उल्लेख गरे।

कुनै बेलाका अत्यधिक क्रियाशील र जुझारु मानिने पार्टीका नेता–कार्यकर्ता यतिबेर किन ओलीले भनेजस्तो ‘अरिंगाल’ बन्न सकेका छैनन् त र? ‘यो प्रश्नको जवाफ भेट्न ओलीजीकै कार्यशैली केलाउनुपर्ने हुन्छ,’ नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले भने, ‘अरिंगालको जस्तो सामूहिकता खोज्नेले आफूले पनि त्यही शैली अपनाउनुपर्छ तर पार्टीभित्र अहिले सामूहिकता हराएको छ । के हुँदै छ, के गरिँदै छ, कसैलाई थाहा हुँदैन । अनि उहाँले गरेका कामको स्वामित्व अरूले कसरी लिन सक्छन् ?’

गत जेठमा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि दुवैतर्फका तल्ला तहका संगठन करिब ‘प्यारालाइज’ भएका छन् । माथिल्लो तहमा केन्द्रीय समिति, स्थायी समिति र सचिवालय बनेका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन्।

तर, केन्द्रीय समिति र स्थायी समितिको बैठक नै बस्दैन । एकतापछि जम्माजम्मी परिचय गर्ने प्रयोजनका लागि मात्र यस्ता बैठक बसे । नौ जना रहेको सचिवालय बनेको छ । त्यसको मात्र बैठक बस्छ।

सचिवालयभन्दा तल्लो तहमा कुन–कुन विषयमा कसरी जाने भन्ने छलफल हुने गरेको छैन । सचिवालय पनि दैनिक काम गर्ने थलोजस्तो छ । अधिकांश काम अध्यक्षद्वयले आफ्नो तरिकाले गरिरहेका छन्।

‘आन्तरिक लोकतन्त्र कमजोर बनाइएको छ, के भन्न खोजेको, के गर्न खोजेको हो, उहाँहरूबाहेक अरूले थाहै नपाउने अवस्था छ, यस्तो स्थितिमा पार्टीका नेता–कार्यकर्ता एकढिक्का भएर कसरी उभिन सक्छन् ?,’ भुसालले भने, ‘उहाँ सामूहिकतामा चल्नुभएको छैन, त्यसकै परिणाम अहिले देखिँदै छ।’

प्रधानमन्त्री ओलीले यसअघि पनि पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा ‘आफ्नो पार्टीमा तथ्य र तर्कसहित सरकार र पार्टीको बचाउ गर्न सक्ने कोही छैनन् ? दार्शनिकहरू नै देख्छु तर कोही बोल्दैनन् किन ?’ भन्दै प्रश्न गरेका थिए । तर, सरकारको सार्वजनिक बचाउमा नेताहरू खुला रूपमा बाहिर नआएपछि शनिबार फेरि त्यस्तै अभिव्यक्ति दोहोर्‍याए।

‘राजनीतिक रूपमा हामी कहाँ जान खोजेका छौं, के गर्दैछौं भन्ने नै स्पष्ट छैन,’ माओवादी केन्द्रबाट एकता प्रक्रिया जोडिएका स्थायी समिति सदस्य मणि थापाले भने, ‘केन्द्रमा एकता गरियो तर भावनात्मक एकता हुन सकेको छैन । यस्तो बेला हरेक विषयमा पर्याप्त छलफल र बहस हुनुपर्ने थियो, त्यो पनि छैन । त्यसैले कसैले बोलेको वा गरेको गतिविधिमा अर्कोले स्वामित्व लिन सकेको छैन।’

अहिले पार्टीभित्र हुने गतिविधिको स्वामित्व व्यक्तिले नै लिनुपर्ने, अरू जिम्मेवार नहुनेजस्तो अवस्था आएको उनी बताउँछन् ।

‘अहिले मुलुकमा यत्रो घटना (निर्मला पन्त बलात्कार र हत्याकाण्ड) भएको छ, मुलुक नै हल्लिएको छ तर पार्टीमा कुनै धारणा बनेको छैन,’ थापाले भने, ‘यस्तो अवस्था अरू घटनाहरूमा पनि देखिइरहेको छ।’

फरक–फरक धारको प्रतिनिधित्वबाट पार्टी बनेकाले नेताका कार्यशैली पनि भिन्न छन् । दुई जना अध्यक्ष छन् । ओली र पुष्पकमल दाहालको कार्यशैली भिन्न छ।

यद्यपि उनीहरूबीच देखिने खालको विमति बाहिर आएको छैन । तर विगतको पृष्ठभूमिका आधारमा एकले अर्काप्रति गर्ने आशंकाको बादल फाटेको छैन । यस्तो अवस्थामा पार्टीका बैठक र छलफलले दूरी कम गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार