निर्मला हत्या प्रकरणः डीअार्इजी बस्नेतको नेतृत्वमा ‘शक्तिशाली’ छानबिन समिति गठन

काठमाडौं – १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या घटना छानबिन गर्न नेपाल प्रहरीले पुनः अर्को समिति गठन गरेको छ । अाज डिआइजीको नेतृत्वमा थप चार सदस्य छानविन समिति गठन गरेको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयाे । उहाँका अनुसार अनुसन्धानका लागि डिआइजी धिरु बस्नेतको नेतृत्वमा समिति बनाइएको हाे ।

सरकारले कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सह-सचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको थियो । समितिले शनिवार गृहमन्त्री रामबहादुर थापालाई प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएको छ । गत भदौ १४ गते एसएसपीको नेतृत्वमा गठन भएको समितिलाई डिआइजीको नेतृत्वमा रुपान्तरण गरिएको हो । प्रवक्ता क्षेत्रीले भन्नुभयाे, ‘केही समय अगाडिको र अहिलेको अवस्था फरक भएको छ । डिएनएको रिपोर्ट आइसकेको छ । त्यसैले फेरि समितिमा डिआइजीको नेतृत्व दिएका हौं ।’ समितिमा एसएसपी निरजबहादुर शाही, उत्तम सुवेदी लगायतका प्रहरी अधिकृत रहेका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टको अनुसन्धानमा शङ्का पैदा भएपछि गृह मन्त्रालयले नयाँ एसपी पठाएर अनुसन्धान सुरु गर्न निर्देशन दिएको थियो । एसपी बिष्टको अनुसन्धानमा कमजोरी देखिएकाले उनलाई भदौ ९ गते निलम्बित गरिएको थियो । शनिवार गृह मन्त्रालयले दुई डिएसपी सहित पाँच जनालाई निलनम्वन गरेको छ । निलम्वनमा पर्नेहरुमा डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन् । समितिले घटनामा संलग्न सबै प्रहरीको अनुसन्धान गर्ने छ ।

घटना संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाइयो
निर्मला पन्तको घटनामा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाइएको छ । उनीहरुमाथि प्रहरी प्रधान कार्यालयमा अनुसन्धान शुरु गरिसकेको छ । घटनाक्रम जटिल र रहस्यमय बन्दै गएपछि केन्द्रीय अनुसन्धान व्यूरोको टोली पनि कञ्चनपुर पुगेको थियो । व्यूरोबाट एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा पुगेको टोलीले अनुसन्धान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार