ग्राउन्डेड भएको दुई दिनपछि निगमको वाइड बडी उड्यो

काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो (वाइड बडी) आकारको जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ । यो जहाज भदौ २९ देखि दुई दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको थियो । व्यावसायिक उडान थालेको २१ औं दिनमै कार्गो (लगेज, ब्यागेजलगायत सामान) राख्ने ढोका कुच्चिएको भेटिएपछि गत बिहीबार दिउँसोबाट २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०-२००’ सिरिजको उक्त जहाज ग्राउन्डेड भएको थियो ।

युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित यो जहाजलाई निगमले ‘मकालु’ नाम दिएको छ । कलसाइन ‘९एन-एएलजेड’ भएको जहाज बिहीबार बिहान भारतको नयाँदिल्लीबाट काठमाडौं आएपछि अर्को उडान गर्नुअघि निगमका इन्जिनियररूले निरीक्षण गर्ने क्रममा कार्गोतर्फको ढोका कुच्चिएको देखेका थिए । यो जहाजमा भएको घटनाबारे निगमले एयरबसलाई इमेलमार्फत तस्बिरसहित जानकारी गराएको थियो र मर्मत गरेर उडाउने अनुमति मागेको थियो । एयरबसले निगमबाट प्राप्त जानकारी अध्ययन गरेपछि मर्मत गरी जहाज उडाउन अनुमति दिएको थियो ।

वाइड बडी मकालु अाज बिहान कतारको दोहाका लागि यात्रु बोकेर उडेकाे छ । निगमको यो दोस्रो वाइड बडी जहाज गत साउन १० गते फ्रान्सको टुलुसस्थित एयरबसको कारखानाबाट सिधा ९ घन्टा उडेर काठमाडौं आएको थियो । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवश्यक प्रक्रिया पूरा गरेर भदौ ८ गतेबाट व्यावसायिक उडान सुरु गरेको थियो । यसले पहिलो उडान बैंकका लागि गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार