प्रतिक्रियावादीविरुद्ध अरिंगालझैं खनिनुस् : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादी विरुद्ध अरिंगालझै खनिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । देशी/विदेशी प्रतिक्रियावादीहरूले पार्टी र सरकारविरुद्ध हमला गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीका हमलालाई एकताबद्ध भएर जवाफ दिन आग्रह गर्नुभयाे ।

‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ । तर हामीसँग अरिंगालको गोलो जति पनि बुद्धि छ कि छैन । त्यो हामीले हेर्नुपर्छ’, तत्कालीन माओवादीका नेता स्व.पोस्टबहादुर बोगटीको चौथो स्मृति दिवसमा अाज राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेता, कार्यकर्तालाई प्रश्न गरे, ‘एउटा अरिंगाल मार्‍यो भने त्यसलाई मार्‍यो ठीकै छ नि! अर्कोलाई हमला गर्‍यो, ठीकै छ भन्ने गर्छौं कि एकजुट भएर लाग्छौं ?’

प्रतिक्रियावादीका हमलालाई नेतारकार्यकताले जवाफ नदिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाउनुभयो । साथै उहाँले जनताको आत्मबल बढाउने खालको अभिव्यक्ति दिन आग्रह गर्नुभयो । ‘हाम्रा हरेक बोलीमा जनताको मनोबल खस्काउने, अविश्वास बढाउने, जनताको विश्वास डगमगाउने अथवा एकताप्रति विश्वास डगमगाउने अनि छुस्सछुस्स बिशाक्त कुराहरु छोड्दै जाने’, उहाँले थप्नुभयो, ‘त्यस प्रवृत्तिले हामीलाई अगाडि बढाउँदैन ।’

प्रधानमन्त्री ओलीले जालझेलबाट दुनियामा कहीँ पनि क्रान्ति सफल नभएको दाबी गर्दै सही विचार र एकताले सफल हुन सकिने उल्लेख गर्नुभयो । नेपालको कम्युनिष्ट आन्दोलन एकीकृत हुँदै गरेको उहाँले बताउनुभयो । इमान्दारीपूर्वक सहिदका सपना साकार पार्ने गरी अघि बढ्न उहाँले आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार