निर्मला बलात्कार-हत्या अनुसन्धान किन गोलमोटल ?

काठमाडौं – प्रतिनिधि सभाका सदस्यहरूले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार-हत्याको छानबिनमा सरकारले गोलमोटल र अलमल गरिरहेको बताएका छन् । आजको संसद बैठकमा बोल्दै अधिकांश सांसदहरूले शक्ति केन्द्रको आडमा प्रहरीले घटनाका प्रमाणहरू मेटाएको बताएका हुन् ।

नेपाली कांग्रेसका सांसद गगन थापाले ‘जनतासँग प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिल अनुसन्धान प्रभावित पारेको बताउनुभयो । अर्का सांसद अमरेशकुमार सिंहले केहीदिनअघि छानबिन समितिबाट राजीनामा दिएर फेरि काममा फर्किएका उपसचिव वीरेन्द्र केसीलाई ज्यान मार्ने धम्की दिने शक्तिशाली व्यक्ति को हुन् ? भन्ने प्रश्न गर्नुभयो ।

सांसद राजेन्द्र लिङ्देन पछिल्ला घटनाक्रमले को अभियुक्त हो भन्ने प्रष्ट भइसक्दा पनि सरकार उनीहरूलाई समाउन किन अलमलिएको भनी प्रश्न सोध्नुभयो । उहाँले अब अनुसन्धान सुरूमा अनुसन्धानमा संलग्न प्रहरी अधिकृतमाथि हुनुपर्ने बताउनुभयो । सांसद पार्वती डिसी चौधरीले घटनाको अनुसन्धानमा सरकारले गोलमोटल गरेको उल्लेख गर्दै अहिले निलम्बित एसपी डिल्ली बिष्टको डिएनए परीक्षणले पनि सत्यतथ्य बाहिर ल्याउँछ भन्नेमा विश्वास नरहेको बताउनुभयो ।

सांसद बालकृष्ण खाँणले सरकारले घटनाको गम्भीरतापूर्वक छानबिन गर्नुभन्दा उन्मुक्ति र ढाकछोप लागेको बताउनुभयो । यस्तै सांसद सुजाता परियारले गृहमन्त्रीले संसदमा दिएको जवाफले चित्त नबुझेको अनुसन्धानमा लापरबाही भएको बताउनुभयो भने सांसद मीना सुब्बा घटनाका अपराधी ठूला शक्तिको आडमा बचाउने खेल भइरहेको आरोप लगाउनुभयो । सांसदहरू चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, मीन विश्वकर्मा, प्रेम सुवाल, महेन्द्र लिम्बु, प्रमिला राई, उमाकान्त चौधरी, दुर्गा पौडेलले सरकार पीडितलाई न्याय दिन ढिलाइ गरेको बताउनु भएको थियो । गृहमन्त्रीसँग सांसदहरूले प्रहरी हिरासतमा हुँदा भएको बाँकेका राममनोहर यादवको मृत्युको छानबिन किन नगरेको भनी प्रश्न सोधेका थिए ।

जवाफमा गृहमन्त्री थापाले निर्मला बलात्कार-हत्या छानबिनमा प्रधानमन्त्रीले प्रभाव नपारेको बरू छिटो अपराधी पत्ता लगाउन निर्देशन दिएको बताउनु भएको छ । उपसचिव केसीले उल्लेख गरेको मान्छे पहुँचमा नभई जिउडालमा शक्तिशाली भएको उहाँको जवाफ थियो । मन्त्री थापाले छानबिनको परिणाम आउने तोक्न नमिल्ने तर छिटै आउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार