एउटै गाईबाट सवा पाँच लाख आम्दानी

नेपालगन्ज – एउटा गाईले कति लिटरसम्म दूध दिन्छ ? पाँच लिटर वा १० लिटर। तर, बाँकेको शारदा सिर्जनशील गाई फार्मको ‘गौथली’ गाईले दैनिक २८ लिटरसम्म दूध दिन्छ। कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी शारदा शर्माको होलेस्टेन फ्रोजन जातको यो गाईले दुई बेतमा गरी पाँच लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ।

१६ वैशाख २०७३ मा पहिलो बेत ब्याएको यो गाइले आठ महिनामा चार हजार चार सय १० लिटर दूध दियो। २१ वैशाख २०७४ मा दोस्रो बेत ब्याएपछि पाँच हजार दुई सय ८० लिटर दूध दिएको फार्म सञ्चालक शारदा शर्माले बताइन्। ‘पहिलो बेतको सुरुका चार महिना २२ लिटरका दरले दूध दियो। त्यसपछिका तीन महिना १७ लिटर र अन्तिम एक महिनामा आठ लिटरका दरले दूध दिएको थियो’, सञ्चालक शर्माले भनिन्, ‘दोस्रो बेतमा त चमत्कार नै भयो। सुरुका चार महिना २८ लिटरका दरले दूध दियो। त्यसपछिका तीन महिना १८ लिटर र अन्तिम एक महिना १० लिटरका दरले दूध दियो।’

गाईले वर्षभरि दूध दिने भए पनि क्रमशः दूधको मात्रा घटाउँदै लैजानुपर्ने उनी बताउँछिन्। ‘बाह्रै महिना दूध दुहुनु हुन्न। क्रमशः दूधको मात्रा घटाउँदै घटाउँदै आठ महिनामात्र दुहुनु पर्छ’, उनले भनिन्। गौथली अहिले फेरि गर्भिणी भएकी छे। हरेक वर्ष वैशाखमा ब्याउँछे।

साबिक जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख डा.वेदबहादुर केसी जिल्लामा धेरै दूध दिने गाई गौथली नै भएको बताउँछन्। ‘विगतमा पशु मेला प्रदर्शनी हुन्थ्यो। धेरै दूध दिने गाईभैंसी पुरस्कृत हुन्थे। अब प्रदर्शनी हटेको छ। अहिलेसम्म २८ लिटर दूध दिने अर्को गाई मैले भेटेको छैन’, उनले भने। फार्म सञ्चालक शर्मा त जिल्लाको मात्र होइन, मध्यपश्चिममै सबैभन्दा धेरै दूध दिने गाई भएको दाबी गर्दै भन्छिन्, ‘मध्यपश्चिममा २८ लिटर दूध दिने अर्को गाई छैन। गौथली मात्र हो। तर, पोखरामा मैले ४० लिटर दूध दिने गाई पनि देखेकी थिएँ।’ यो गाई किन्न कति आए, आए। ‘एक लाख ९० हजार रुपैयाँसम्म मोल गरे। मैले बेचिन्’, उनले भनिन्।

गौथलीले सुरुका चार महिना २८ लिटर, त्यसपछिका तीन महिना १८ लिटर र अन्तिम एक महिनामा १० लिटरका दरले दूध दियो।

कोहलपुर– ८ पिपिरीको प्रकृति गाई फार्ममा पनि २२ लिटरसम्म दूध दिने होलेस्टेन फ्रोजन जातका गाई छन्। ३५ वटा उन्नन जातका गाई पाल्ने यो फार्म जिल्लाकै ठूलो व्यावसायिक गाईपालन हो। यसका सञ्चालकद्वय दम्पत्ती विष्णु पोखरेल र शारदा पोखरेल समाजशास्त्रका स्नातकोत्तर हुन्। उनीहरू आफैं खटेर काम गर्छन्। फार्ममा अहिले आठवटा दुहुना गाई छन्। यसबाट दैनिक सवा दुई सय लिटर दूध बेच्छन्। पोखरेल भन्छन्, ‘दैनिक दुई सय १५ देखि दुई सय २५ लिटर दूध बिक्री हुन्छ। मासिक एक लाख ८० हजार त नाफा मात्र हुन्छ।’ १३ वर्ष शिक्षण, १० वर्ष सामाजिक संघसंस्थामा लागेर गाई पाल्न थालेका पोखरेल आपूmलाई ‘गोठालो’ भन्न रुचाउँछन्। अनि गाईवस्तुको स्याहारमा रमाउँछन्। -अन्नपूर्णबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार