ओलीको प्रश्न- माइतीघर आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानअधिकारप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल मिडिया सोसाइटीको निर्वाचित कार्यसमितिलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाइ दिंदै प्रधानमन्त्री ओलीले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ बर्ष जेल बसेको, पार्टीको कयौं नेता, कार्यकर्ता शहीद भएकोले वर्तमान सरकार र नेपाल कम्यूनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने बताउनुभयो । माइतीघर मण्डलाको बिषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘माइतीघर मण्डला के आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त?’ प्रधानमन्त्री ओलीको प्रश्न छ ‘अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने?’

‘नेकपा लोकतन्त्रको जन्मदाता हो । यही पार्टीको सरकार भएका बेला लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुदैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो कुरा मिडियाले पनि बुझन् पर्दछ ।’ प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठुलो भूमिका हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार