एउटा अभिव्यक्तिले विवादमा मुछिए दलाई लामा, भारतमा माफीनै माग्नुपर्यो

काठमाडाैं – तिब्बती धार्मिक नेता दलाई लामाले सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिनुअघि तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले आफु लगायत हज्जारौं तिब्बतीहरुलाई आश्रय दिएको स्मरण गर्दै उनलाई धन्यवाद दिएका छन् ।

गत बुधबार उत्तरी गोवास्थित गोवा इन्ष्च्यिुट अफ म्यानेजमेन्टका छात्राहरुलाई सम्बोधन गर्ने क्रममा उनले दिएको एउटा अभिव्यक्ति विवादमा आएपछि तत्कालीन प्रधानमन्त्री नेहरुसँग जोडिएको उक्त टिप्पणीलाई लिएर माफी माग्दै आफ्नो आसय त्यो नभएको बरु हज्जारौं तिब्बतीलाई आश्रय दिने नेहरुप्रति आभार प्रकट गरे ।

  अगष्ट ८ को कार्यक्रममा उनले भनेका थिए, ‘त्यसबेला महात्मा गान्धी प्रधानमन्त्रीको पद मोहम्मद अलि जिन्नालाई दिन चाहान्थे, त्यो प्रस्ताव जवाहरलाल नेहरुले ठाडै इन्कार गरिदिएका थिए, नेहरु आत्मकेन्द्रीत थिए । उनी चाहान्थे कि प्रधानमन्त्री म नै बन्नुपर्छ ।’ उनको यो अभिव्यक्तिलाई लिएर भारतमा नेहरु समर्थकहरुले आलोचना गरेका थिए ।

लामाले आफुले दिएको अभिव्यक्तिप्रति माफी माग्दै नेहरुसँगको त्यसबेलाको सम्बन्ध निकै गाढा रहेको समेत खुलासा गरेका छन् । शुक्रबार आयोजित ‘धन्यवाद कनार्टक’ नामक कार्यक्रममा माफी माग्दै लामाले चीनले सन् १९५० मा आफ्नो नेतृत्वमा चलेको पहाडी मुलुक तिब्बत कब्जामा लिएपछि मातृभूमि छोड्न बाध्य हज्जारौं तिब्बती भिक्षु र समर्थकहरुलाई समर्थन गरेका नेहरुलाई थप आभार व्यक्त समेत गरे ।

उनले अघिल्लो कार्यक्रममा दिएको अभिव्यक्तिको आसय त्यस्तो नभएको, बरु नेहरुले आफु र आफ्नो विचारलाई संरक्षण गर्न चाहेको भन्दै भने, ‘नेहरु र मेरो सम्बन्ध निकै घनिष्ठ थियो । उनले तिब्बती विचारको संरक्षण गर्न अलग स्कुलको निर्माण गर्न समेत सुझाव दिएका थिए ।’

सन् १९८३ मा नोबल पुरस्कार समेत पाएका लामा स्वतन्त्र तिब्बत अभियानका मुख्य नेतृत्वकर्ता मानिन्छन् । यद्यपि, स्वतन्त्र तिब्बत अभियानका अभियन्ताहरुले अहिले उनलाई त्यसभित्रको सरकारको नेतृत्वभन्दा पनि सल्लाहकारका रुपमा राखेको बताइन्छ ।

शुक्रबार आयोजित ‘धन्यवाद कर्नाटक’ कार्यक्रम, ‘धन्यवाद भारत २०१८ कार्यक्रम’ को एउटा भाग हो । जसको आयोजना भारतमा रहेका तिब्बती समुदायले आफ्नो निर्वासित जीवन ६० औं वर्षमा प्रवेश गरेको अवसरमा गरेका थिए । यो कार्यक्रमको आयोजना केन्द्रीय तिब्बती प्रशासन (सिटिए) ले गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

दलाई लामा तिब्बतको पूर्वोत्तर गाउँ तक्सेरामा जन्मिएका हुन् । जन्मिएको दुई वर्षपछि उनलाई धर्मगुरुको मान्यता दिएको बताईन्छ । तिब्बती धार्मिक मान्यताअनुसार उलाई १३ औं दलाई लामाको रुपमा थुबतेन ग्यातोको पुनर्जन्म लिएको मानिन्छ । लामा सन् १९५९ मा चीनले तिब्बत कब्जा गर्नु अघिको विद्रोहमा असफल भएपछि भारत निर्वासित भएका थिए ।

त्यसपछि भारतमा एक लाखभन्दा बढी तिब्बती शरणार्थीहरुले निर्वासित जीवन बिताइरहेका छन् । उनीहरुको संख्या कर्नाटक र हिमाञ्चल प्रदेश लगायतका राज्यहरुमा बढी रहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार