सम्मेलन तयारीका लागि बिमस्टेक उच्च अधिकारीकाे बैठक काठमाडौंमा

काठमाडौं – आसन्न बिमस्टेक शिखर सम्मेलनको तयारीका लागि सदस्य राष्ट्रहरुका उच्च अधिकारीस्तरीय बैठक काठमाडौंमा बसेको छ। बहुपक्षीय प्रविधि तथा आर्थिक साझेदारीका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौंमा हुँदै छ। सम्मेलनको तयारीका लागि शनिवार काठमाडौंमा सात वटा राष्ट्रका परराष्ट्ररविदेश सचिवहरुको बैठक बसेको हो।

यो बैठकले बिमस्टेक शिखर बैठक हुने स्थान, समय परराष्ट्र मन्त्रीस्तरीय बैठकका लागि एजेण्डा, मुल बैठकको एजेण्डाको प्रारम्भिक खाका, बैठकमा सहभागी हुने सदस्य राष्ट्रका प्रमुखहरुलाई दिईने रिट्रिटको स्थानलगायत अन्य व्यवस्थापकीय निर्णय गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। सन् २०१४ मा म्यानमारमा भएको तेस्रो शिखर सम्मेलनले नेपाललाई अध्यक्षमा मनोनयन गर्ने चौथो शिखर सम्मेलन आयोजनाको जिम्मा दिएको थियो।

सम्मेलनमा सहभागी हुन बिमस्टेकका सदस्य मुलुकका राष्ट्र वा सरकार प्रमुख, परराष्ट्रमन्त्री र सचिव प्रतिनिधिहरु नेपाल आउँदै छन्। सात सदस्य रहेको विम्स्टेकको सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यानमारकी राज्य परिषदकी प्रमुख आङसाङ सूची, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा नेपाल आउँदै छन्।

सम्मेलन तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजत्वमा आयोजक समिति गठन भएको छ। सम्मेलनमा भाग लिनका लागि भदौ ११ गते देखि विदेशी पाहुनाहरु काठमाडौं आउन सुरु हुने बताइएको छ। सम्मेलन पूर्व भदौ १२ गते उच्चअधिकारी स्तरीय बैठक तथा १३ गते परराष्ट्र मन्त्रीस्तरीय बैठक बस्ने छ। परराष्ट्रमन्त्री स्तरीय बैठकले सम्मेलनका एजेण्डाहरुलाई अन्तिम रुप दिने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार