राजसंस्थाका बारेमा कुरा नमिलेपछि राप्रपा अध्यक्ष थापाले गरे पार्टी एकता वार्ता स्थगित

काठमाडाैं । हिन्दु राष्ट्र र राजसंस्थाका बारेमा कुरा नमिलेपछि राप्रपा अध्यक्ष कमल थापा र पशुपति शमशेर राणाबीचकाे पार्टी एकता वार्ता स्थगित भएको छ। पार्टीको गण्डकी प्रदेश कार्यालय स्थापना र गण्डकी प्रदेश स्तरीय हिन्दु राष्ट्र पुनःस्थापना जनजागरण अभियानका क्रममा पोखरा पुगेका अध्यक्ष थापाले राणा पक्षले एजेन्डा स्पष्ट नपारेसम्म एकता वार्ता स्थगित गरिएकाे घोषणा गरेका हुन्।

शनिबार मिडिया नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘राप्रपा, पार्टी एकताका नाममा हिन्दु राष्ट्र र राजसंस्थाका बारेमा बहस गर्न तयार छैन। एजेन्डा स्पष्ट नपारेसम्म पशुपतिशमशेर राणाजीसँग वार्ता स्थगित गरिएको छ।’ देशमा भ्रष्टाचार बढ्दै गएको, सुशासन कायम हुन नसकेको, बाह्य हस्तक्षेप बढिरहेको, सर्वसत्तावाद हावी हुँदै गएको, सरकार जनमुखी हुन नसकेको, राष्ट्रियता कमजोर हुँदै गएको अाराेप लगाउँदै अध्यक्ष थापाले आफ्नो पार्टीले अवलम्बन गरेको हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता र औचित्य झनै बढेर गएको दाबी गरे।

निर्वाचन पछि देशमा राजनीतिक स्थिरता कायम हुने र देशको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रीत हुने जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको उनले आरोप लगाए। उनले भने, ‘सरकार गठनको सुरुवाती दिनमा केही सुधारका काम गर्ने संकेत देखाए पनि परिणाम केन्द्रीत नहुँदा आशंका बढेर गएको छ।’ यातायात क्षेत्रमा देखिएको सिण्डिकेट अन्त्य गर्ने, बहुचर्चित ३३ किलाे सुनकाण्ड, समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीबारे सरकार कडाइका साथ प्रस्तुत नहुँदा आशंका बढेर गएको अध्यक्ष थापाले टिप्पणी गरे।

तर, सरकारलाई अझै सुधारको मौका भने दिनुपर्ने राप्रपाको धारणा रहेको उनले बताए। उनले भने, ‘विपक्षीले संसद अवरुद्ध गर्ने र सडक तताउने काम गर्न हतारो हुन्छ भन्ने पार्टीको धारणा छ।’ राप्रापले हिन्दु राष्ट्रको पुनःस्थापनाका लागि जनसंघर्ष र जनपरिचालनको नीति लिएको छ । फागुन ७ गतेबाट देशव्यापी जनसंघर्ष गर्ने र त्यसका लागि अहिले जनजागरण अभियान गरिरहेको पार्टीले जनाएको छ। जनजागरण अभियान देशका सातवटै प्रदेश र सबै स्थानीय तहमा सञ्चालन हुने बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार