बुटवल बसपार्कको मुहार फेरिदैः मन्त्रीदेखि मजदुरसम्म जुटे सरसफाइमा

बुटवल – देशको सबैभन्दा बढी ब्यस्त रहने बसपार्क मध्यको एक बुटवल बसपार्कको आज विशेष सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रममा प्रदेश मन्त्रीदेखि यातायात मजदुर सम्म सहभागी भए । तिनाउ सरसाफाइ अभियान अन्तरगत चौथो हप्ताको कार्यक्रममा बुटवल बसपार्क र आसपासका ठाउ सरसफाइ गरिएको हो ।

उक्त सरसफाइ कार्यक्रममा प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री लिला गिरी ,प्रदेश सांसद निर्मला क्षेत्री, बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीसहित अन्य कर्मचारी, काठमाण्डौ चक्रपथ सरसफाइ अभियानका संयोजक लोकबहादुर टण्डन, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, बस व्यवसायी, बुटवल ब्याडमिन्टन क्लब, नेपाल यातायात मजदुर सङ्गठनका पदाधिकारी, मजदुर तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

उक्त सरसफाइबाट करिब १५ टन फोहोर संकलन भएको सरसफाइ अभियान्ता लोकबहादुर टण्डनले जानकारी दिनुभयो । सरसफाइमा सहभागी मन्त्री गिरीले सरसफाइ अभियानले बुटवल हराभरा हुने विश्वास व्यक्त गर्नुभयो । सरसफाइ अभियान पाँच नम्वर प्रदेश भरी नै सन्चालन हुनुपर्ने धारणा राख्दै उहाँले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । बातावरण फोहोर भए आम नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भन्दै मन्त्री गिरीले बातावरण सरसफाइ गर्नु सबैको दायित्व भयकोमा जोड् दिनुभयो ।

यस्तै बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले सरसफाइ कार्य नियमित हुनु पर्नेमा जोड् दिनुभयो । प्रमुख सुवेदीले बुटवल सरसफाइ गर्ने काममा उपमहानगर जस्तोसुकै सहयोग गर्न तयार रहेको समेत बताउनुभयो । काठमाडौको चक्रपथ सरसफाइ गर्ने अभियानको नेतृत्व गरेका लोकबहादुर टण्डनले बुटवलको फोहोर हटाउन आफ्नो टिम प्रतिबद्ध रहेको बताउनुभयो । टण्डन सरसफाइ अभियानका मुख्य अभियान्ता हुन् ।

उक्त सरसफाइ कार्यक्रममा बुटवल उपमहानगरले सरसफाइ सामाग्री, डोजर, ट्याक्टर ट्रिपरको व्यवस्था गरेको थियो । सरसफाइमा झण्डै पाँच सयको सहभागीता थियो । यो अभियान प्रत्येक हप्ता निरन्तर चल्ने तिनाउ सरसफाइ अभियानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार