दोस्रो पटक संसद बैठक स्थगित, अर्को बैठक २५ गते

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव आजकै बैठकको कार्यसूचीमा राख्न गरेको माग सभामुख कृष्णबहादुर महराले राख्न नसक्ने बताएपछि संसद दोस्रो पटक अवरुद्ध भएको छ । आज दोस्रो पटक लगातार बैठक अवरुद्ध भएको हो । कांग्रेस सांसदहरुले आफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध पारिराखेपछि संसद बैठक असार २५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

कांग्रेसले संसदमा पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव आजकै बैठकको कार्यसूचीमा राख्नुपर्ने माग गरेका थिए । तर सभामुख कृष्णबहादुर महराले उक्त प्रस्तावको विषयमा सरकारको ध्यानाकर्षण गराइसकिएको र अर्को बैठकमा कार्यसूचीमा राख्ने बताएपछि कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए ।

सदनमा आज दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथि तत्काल छलफल हुनुपर्ने माग गरेपछि संसद बैठक आधा घण्टाका लागि पहिलोपटक स्थगित भएको थियो । कांग्रेसका सांसदहरु दिलेन्द्र बडु, अजहर कमल मुसलमान र पार्वता बिसी चौधरीले शुक्रबार नै आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा तथा चिकित्सा शिक्षा विधेयक माथि तत्काल कार्यसूचीमा राखेर छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए ।

संसदको बैठक सुरु भए लगत्तै समय माग गरेर बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसको प्रस्तावमा छलफल नभएसम्म सदनको बैठक चल्न नदिने बताएपछि सभामुखले बैठक स्थगित गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार